विकास निर्माणको जिम्मेवारी प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ : सीके राउत
वैशाख ३१, २०८२ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त (सीके) राउतले विकास निर्माणको जिम्मा संघीय सरकारले होइन, प्रदेश र स्थानीय तहले लिनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै अध्यक्ष राउतले संघीय सरकारले स्थानीय विकासको कार्यमा हस्तक्षेप नगर्नु पर्नेमा जोड दिए।
उनले स्थानीय सडक, ढलानजस्ता विकास कार्य संघीय सरकारको कार्यक्षेत्र नभएको स्पष्ट पार्दै भने, “फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन।”
राउतले संघीय सरकारले विकास कार्यमा समन्वय र सहकार्यको मात्र भूमिका खेल्नुपर्ने बताए। “अब विकासकारी हस्तान्तरणको सिद्धान्त लिनुपर्छ। हामीले धेरै लोभ नगरी, विकास निर्माणका सबै काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने सिद्धान्त बजेटमा अवलम्बन गर्नुपर्छ,” उनले भने।
अध्यक्ष राउतले ‘जनता आवास कार्यक्रम’प्रति पनि प्रश्न उठाए। उनले उक्त कार्यक्रमले विपन्न वर्गलाई सहयोग गर्नुको साटो विस्थापित बनाएको आरोप लगाए।
उनको भनाइमा अबको नीति प्रदेश र स्थानीय तहलाई सशक्त बनाउँदै, केन्द्र सरकार सल्लाहकारको भूमिकामा सीमित हुनु पर्नेछ।

