सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बाका ४६ जना पर्वतारोहीलाई सम्मान
भदौ १६, २०८१ । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले ४६ जना पर्वतारोहीलाई सम्मान गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिकाले सगरमाथाको सफल आरोहण गर्ने तथा किर्तिमानी हासिल गरेका ४६ जनालाई सम्मान गरेको हो ।
साथै गाउँपालिकाले उक्त अवसरमा आरोहीहरुलाई सम्मान तथा पर्यटन सद्भावना दूत घोषणा कार्यक्रम समेत गरेको छ ।
कार्यक्रममा ओखलढुंगा जिल्लाबाट प्रथम पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्वा ९ खुन्दुर्के निवासी दोर्जी शेर्पा, २२ पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा ९ मैदानेका आरोही जाडबु शेर्पा, सबै भन्दा कान्छा उमेरमा सगरमाथा आरोहण गर्ने आरोही जम्बले शेर्पा, अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकद्धय खिजीदेम्बा ५ मेले लाक्पा शेर्पा र खिजीदेम्वा २ नस्पु निवासी गेल्जे शेर्पा ओखलढुंगा जिल्लाकै पहिलो महिला कीर्तिमानी आरोही खिजीदेम्वा ९ रिपाल निवासी माया शेर्पा, तामाङ समुदायबाट खिजीदेम्बाका प्रथम आरोही खिजीदेम्वा ९ का भीरखर्कका शुभराज तामाङ लगायतलाई गाउँपालिकाको तर्फबाट सम्मान गर्यो ।
त्यस्तै, खिजीदेम्बा गाउँपालिका, ओखलढुङ्गाको लोगो अंकित झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सन् २०२४ मे २१ का दिन विहान ६ः३० बजे फहराई विश्व माझ खिजीदेम्बा गाउँपालिकालाई चिनाई प्रशंसनीय र कदरयोग्य काम गर्नु भएकाले खिजीदेम्बा ६ भित्ते निवासी कुङ्गा शेर्पालाई पर्यटन सद्भावना दूत घोषणा गरी आपसी सम्झौता समेत सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशिला तामाडले स्वागत तथा बधाई मन्तव्य व्यक्त गर्नुभयो भने वडा अध्यक्ष ज्यूहरु, विभिन्न जातीय संस्था, खिजीदेम्बामा परियोजना सञ्चालन गर्ने संघसंस्थाका प्रतिनिधि, पर्यटनसँग सम्वन्धित संस्थाका अध्यक्ष, अन्य पर्वतारोही लगायतको उपस्थिती रह्यो ।

