जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको पूर्वसन्ध्यामा रेशम चौधरी पक्राऊ
वैशाख १७, २०८२ । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको घोषणा गर्न प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रम सुरु हुनै लाग्दा पूर्वसांसद रेशमलाल चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाटै पक्राऊ गरेको छ ।
चौधरीलाई पुरानो फैसलाको कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाइएको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
डा. राउतको सचिवालयले सार्वजनिक गरेको विवरणमा चौधरीको गिरफ्तारीप्रति घोर भर्त्सना गरिएको छ । “यस घटनाको हामी घोर भर्त्सना गर्दछौं,” सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको छ, “यस पवित्र र ऐतिहासिक अवसरमा गरिएको यो कार्य लोकतान्त्रिक मूल्य र राजनीतिक सहिष्णुतामाथिको गम्भीर हमला हो ।”
उक्त घटनाका कारण एकीकरण कार्यक्रम स्थगित गरिएको र सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकहरूलाई आ–आफ्नो घर फर्कन आग्रह गरिएको छ । सचिवालयले बैठक बसेर थप निर्णय चाँडै सार्वजनिक गरिने जनाएको छ ।
पूर्वसांसद चौधरीलाई सर्वोच्च अदालतबाट पुनरावलोकनपछि रिहा गरिएको थियो । तर, पुरानो फैसलाको नाममा अचानक गरिएको यो गिरफ्तारीले राजनीतिक वृत्तमा बहस चर्किएको छ ।

