Headlineसमाचार

‘कूलिङ अफ पिरियड’ हटाउनु विश्वकै लाजमर्दो राजनीतिक ठगी : डा. भट्टराई

Sharing is caring!


असार १७, २०८२ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा उल्लेख गरिएको ‘कूलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान संसदीय समितिबाट पारित भइसकेको अवस्थामा संसदमा जालसाजीपूर्ण ढंगले हटाइएको विषयमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया जनाएका छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत उक्त घटनालाई “विश्व इतिहासकै लाजमर्दो र निकृष्ट राजनीतिक ठगी” भएको उल्लेख गर्दै उच्च तहका कर्मचारी र राजनीतिक नेतृत्वबीचको साँठगाँठबाट यस्तो गम्भीर राज्यविरोधी र जनघाती कार्य भएको बताए।

उनले लेखेका छन्, “सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामापछि अर्को ठूलो सरकारी पद सम्हाल्न दुई वर्ष पर्खनुपर्ने ‘कूलिङ अफ पिरियड’ भन्ने प्रावधान संसदीय समितिले पारित गरेको भए पनि जालसाजीपूर्ण तरिकाले संसदबाट हटाइयो। यो घटना नेपाल मात्र नभई विश्व इतिहासकै लाजमर्दो राजनीतिक ठगी हो।”

भट्टराईका अनुसार यस घटनाले देखाएको छ कि देशमा कति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू भइरहेका छन् वा हुनसक्ने सम्भावना छ, जुन यस घटनाले ताजा प्रमाण प्रस्तुत गरेको छ। उनले भने, “यसको जति निन्दा गरियो पनि कम नै हुन्छ।”

उहाँले यो विषयले सामान्य टालटुले सुधारले केही हुँदैन भन्ने स्पष्ट पारेको भन्दै समग्र राजनीति र राज्य प्रणालीको अग्रगामी, लोकतान्त्रिक र समाजवादी पुनर्संरचना अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो।

“हामीले वर्षौंदेखि वैकल्पिक राजनीतिका माग चिच्याउँदै आएका थियौं, यो घटनाले त्यो माग कति गम्भीर र आवश्यक रहेको पुष्टि गरेको छ,” भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

निजामती सेवासम्बन्धी विधेयकमा रहेको ‘कूलिङ अफ पिरियड’ प्रावधान हटाइएपछि विभिन्न दलका सांसद, नागरिक समाज र पूर्व प्रशासकहरूले विरोध जनाउँदै आएका छन्। उक्त प्रावधानले अवकाशप्राप्त वा राजीनामा दिएका कर्मचारीहरूले पुनः सरकारी उच्च पदमा नियुक्ति पाउन कम्तीमा दुई वर्ष कुर्नुपर्ने व्यवस्था गर्ने थियो।

भट्टराईले भ्रष्टाचारविरुद्धको अभियानलाई बलियो बनाउन #NoToCorruption#AlternativePolitics ह्यासट्यागसहित जनचेतना फैलाउने अभियानमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *