देशबिचार/ समाज

इखा पुखुको पुनर्निर्माण : लिच्छविकालीन सम्पदा जगेर्नातर्फ महानगरको नयाँ प्रयास

Sharing is caring!

वैशाख ४, २०८२ । काठमाडौं महानगरपालिकाले ऐतिहासिक इखा पुखुको पुनर्निर्माण कार्य अघि बढाएको छ। लिच्छविकालीन कालमा निर्माण भएको विश्वास गरिने यो पोखरी वडा नम्बर १७, १८ र २५ को सीमाक्षेत्रमा पर्छ।

काठमाडौंका मेयर बालेन शाहले बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट सार्वजनिक गर्दै इखा पुखुको ऐतिहासिक, धार्मिक र वातावरणीय महत्वबारे जानकारी दिएका छन्। उनले पोखरीको पुनर्निर्माण कार्यलाई “जल चक्र, वातावरण र सम्पदासँग पुनः सम्बन्ध जोड्ने साझा संकल्प” को रूपमा व्याख्या गरेका छन्।

प्राचीन कालमा इखा पुखु काठमाडौंको उत्तरी सिमाना मानिने क्षेत्रपाटीमा बनाइएको थियो। त्यस क्षेत्रको बस्तीलाई पानी उपलब्ध गराउने र भूमिगत जलस्तर कायम राख्ने उद्देश्यले यो पोखरी निर्माण गरिएको इतिहासमा उल्लेख पाइन्छ। साथै, पोखरी नजिकै रहेको इखानारायण मन्दिरले यसको धार्मिक महत्व पनि दर्शाउँछ।

२०७२ को भूकम्पपछि थुप्रिएको फोहोर, झारपात र भग्नावशेषहरू हटाइएको महानगरले जनाएको छ। सुरुमा २ फिट गहिरो उत्खनन गरिए पनि पुराना तहहरू भेटिएपछि थप १ फिट खनिएको थियो। त्यसपछि कालो माटो भेटिएको छ, जसलाई विज्ञहरूले पुरातात्त्विक तहका रूपमा व्याख्या गरेका छन्।

महानगरका अनुसार, करिब ३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको पोखरीको क्षेत्रफल साढे ७ रोपनी छ। जसमध्ये ६ रोपनी क्षेत्र जलाशयका लागि छुट्याइएको छ। बाँकी भागमा २ मिटर चौडाइको पदमार्ग निर्माण हुँदैछ, जसले सर्वसाधारणलाई पैदल हिँड्न, विश्राम गर्न र शान्त वातावरण अनुभव गर्न सहयोग गर्ने बताइएको छ।

पोखरीमा आकाशे पानी संकलन प्रणाली समेत राखिनेछ। यसबाट भूजल पुनर्भरणमा सहयोग पुग्ने र हरियाली प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

मेयर शाहले लेखेका छन्, “अब हामी तयार छौं — इखा पुखुलाई लिच्छविहरूकालिन इतिहास र गरिमा फिर्ता गर्न।”

📹 भिडियो हेर्नुहोस्:
facebook.com/balenOfficial/videos/678438567898871

Leave a Reply

Your email address will not be published. Required fields are marked *