काठमाडौंमा नागरिकता प्रमाणपत्रको सिफारिस अब अनलाइनमार्फत अनिवार्य
वैशाख २, २०८२ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अबदेखि नागरिकता प्रमाणपत्रका लागि सिफारिस अनलाइनमार्फत अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था लागू गरेको छ। कार्यालयले २०८२ साल वैशाख २ गतेदेखि काठमाडौं जिल्लाका सबै ११ स्थानीय तहमा अनलाइन सिफारिस प्रणाली लागू गरिएको जानकारी दिएको छ।
प्रशासन कार्यालयका अनुसार अबदेखि कुनै पनि हस्तलिखित सिफारिस स्वीकार गरिने छैन। यसबारेमा काठमाडौं महानगरपालिकासहित सबै पालिकालाई औपचारिक पत्रमार्फत जानकारी गराइसकिएको छ। पत्रमा भनिएको छ, “कतिपय वडा कार्यालयहरूबाट अझै पनि हस्तलिखित सिफारिस आउने क्रम नरोकिएकाले अबदेखि ती सिफारिसका आधारमा नागरिकता प्रमाणपत्र जारी नहुने जानकारी गराउँदछौं। अनलाइन प्रणालीमार्फत मात्र सिफारिस गरिने व्यवस्था मिलाउनुहोस्।”
गृह मन्त्रालयले देशभर नागरिकता सम्बन्धी प्रक्रिया डिजिटल प्रणालीमा लैजाने नीति लिएको छ। सोही अनुसार मातहतका कार्यालयहरूलाई अनलाइन प्रणालीमा काम गर्न निर्देशन दिइसकिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालय पनि सोही निर्देशनको कार्यान्वयनमा जुटेको हो।
हालको चरणमा काठमाडौं महानगरपालिकाका वडाहरूमा अनलाइन सिफारिस प्रणाली प्रारम्भ गरिएको छ। अन्य पालिकामा पनि यो सेवा विस्तार गर्दै लगिने प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सबै वडामा एकैपटक यो प्रणाली लागू गर्न केही प्राविधिक चुनौतीहरू भए पनि क्रमिक रूपमा सबै तहमा अनलाइन प्रणाली लागू गरिनेछ।

