रास्वपाले सातै प्रदेशमा तोक्यो नयाँ इन्चार्ज
वैशाख ४, २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरणको तयारीस्वरूप सातै प्रदेशमा इन्चार्जहरू तोकेको छ। बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले प्रत्येक प्रदेशमा नयाँ नेतृत्व तोक्ने निर्णय गरेको हो।
पार्टीले दिएको जानकारीअनुसार, कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिम प्रदेशमा हरि ढकालले प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन्।
इन्चार्ज तोकिएको प्रदेश संगठनलाई थप व्यवस्थित गर्दै स्थानीयस्तरमा पार्टीको प्रभाव विस्तार गर्नुपर्ने निष्कर्षसहित यो निर्णय गरिएको रास्वपाले जनाएको छ। इन्चार्जहरूले सम्बन्धित प्रदेशमा पार्टीको सांगठनिक काम, अभियान र कार्यक्रमलाई अगाडि बढाउने जिम्मा पाउनेछन्।
त्यस्तै, बैठकले पार्टीको राष्ट्रिय महाधिवेशनको मिति पनि सार्ने निर्णय गरेको छ। नयाँ मिति चाँडै सार्वजनिक गरिने रास्वपाले जनाएको छ। पार्टीका अनुसार महाधिवेशनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मिति परिमार्जन गरिएको हो।

