मनोरञ्जन

पुष्प खड्का ‘महाराजधिराज’मा अनुबन्ध, स्टारकास्ट झन् दमदार

Sharing is caring!

काठमाडौं । अभिनेता पुष्प खड्का नेपाली फिल्म ‘महाराजधिराज’ मा अनुबन्ध भएका छन् । केही समययता रजतपटबाट टाढा रहेका खड्का यस फिल्ममार्फत पुनः अभिनयमा फर्किन लागेका हुन् ।

चलचित्र टिमले आइतबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको जानकारी दिइएको छ । यससँगै फिल्मको कलाकार समुह झन् सशक्त बनेको छ । यसअघि नै अभिनेता आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहले फिल्ममा अभिनय गर्ने तय भइसकेको थियो भने अभिनेत्री वर्षा राउत र वर्षा शिवाकोटी पनि फाइनल भइसकेका छन् ।

‘महाराजधिराज’ मा समावेश कलाकारहरूको नाम हेर्दा फिल्म फरक ढंगको कथावस्तुमा आधारित रहने अनुमान गर्न सकिन्छ । पुराना र नयाँ पुस्ताका कलाकारहरूको संयोजनले चलचित्रलाई विशेष बनाउने विश्वास गरिएको छ ।

पुष्पले यस चलचित्रमार्फत आफू नयाँ उचाइमा पुग्ने अपेक्षा व्यक्त गरेका छन् । “म महाराजधिराजबाट धेरै आशावादी छु,” उनले भने, “फिल्मको स्क्रिप्ट र टिमप्रति पूर्ण भरोसा छ । यो मेरो लागि एउटा ठूलो मौका हो ।”

चलचित्रको निर्देशन परिच्छेद सेनले गर्दैछन्, जसको लेखन समेत उनकै हो । उनले यसअघि निर्देशन गरेको ‘प्रेमगञ्ज’ समीक्षकबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको थियो ।

‘महाराजधिराज’ छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुँदैछ । प्रस्तुतकर्ता विराज बिष्ट यसअघि ‘बुलाकी’ जस्तो सफल फिल्म निर्माण गरिसकेका छन्, जसले राष्ट्रिय फिल्म पुरस्कार समेत जितेको थियो ।

यस चलचित्रका निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् । ‘महाराजधिराज’ आगामी फूलपातीको अवसरमा देशभर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।

यसअघि नै चलचित्रको पोस्टर सार्वजनिक भइसकेको छ र प्रचारप्रसारमा टिम सक्रिय देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *