देशभर सार्वजनिक यातायात ठप्प, सरकार र व्यवसायीबीच गृह मन्त्रालयमा छलफल जारी
जेठ १९, २०८२ । आज देशभर सार्वजनिक यातायात ठप्प बनेको छ । ‘राइड सेयरिङ’ सेवा लगायतका विषयमा सरकारसँग माग राख्दै आन्दोलनरत यातायात व्यवसायीहरूले सेवा अवरुद्ध पारेका हुन् ।
यातायात व्यवसायीहरूले सरकारलाई दबाब दिन देशभरका सवारी साधन सञ्चालन नगरी सार्वजनिक यातायात बन्द गरेका छन् । यात्रुहरू भने अत्यधिक सास्तीमा परेका छन् । कार्यालय, विद्यालय तथा अन्य गन्तव्य पुग्न यात्रुहरू लामो समयसम्म बाटोमा अलमलिएका छन् ।
यसबीच, गृहमन्त्री रमेश लेखकले आन्दोलनरत यातायात व्यवसायीका पदाधिकारीहरूसँग गृह मन्त्रालयमा छलफल सुरु गरेका छन् । दुवै पक्षबीच वार्ता जारी छ ।
यातायात व्यवसायीहरूले ‘राइड सेयरिङ’ सेवा तुरुन्त खारेज गर्नुपर्ने, निजीकृत सवारीको व्यावसायिक प्रयोग बन्द गरिनुपर्ने लगायतका माग अघि सारेका छन् । उनीहरूको भनाइमा सरकारको नियमन बिना चलाइएका सवारी सेवाले वैध व्यवसायलाई संकटमा पारिरहेको छ ।
छलफलमा गृहमन्त्री लेखकसहित गृह मन्त्रालयका उच्च अधिकारीहरू, ट्राफिक प्रहरी महाशाखा तथा यातायात व्यवस्था विभागका प्रतिनिधिहरू पनि सहभागी छन् ।
सरकारले वार्ता गरेर समस्या समाधान गर्ने प्रयास गरिरहेको भए पनि आन्दोलनरत पक्ष आक्रोशित छन् । उनीहरूले माग पुरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
यता, ‘राइड सेयरिङ’ सेवा प्रयोगकर्ताहरू भने यो सेवा बन्द भएमा आम सर्वसाधारणलाई समस्या पर्ने भन्दै विरोध जनाइरहेका छन् । समाजिक सञ्जालमा यस विषयमा पक्ष र विपक्षमा बहस चलिरहेको छ ।
गृह मन्त्रालयको वार्ता सकिएपछि आन्दोलनको भविष्य के हुन्छ भन्ने प्रष्ट हुने जनाइएको छ ।

