सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर आन्दोलन गर्ने यातायात व्यवसायीको घोषणा
जेठ १८, २०८२ । सार्वजनिक यातायात व्यवसायीहरूले आगामी सोमबार (जेठ २०) देखि देशभर अनिश्चितकालीन सवारी बन्दको घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नेतृत्वमा यो आन्दोलन सुरु हुने भएको हो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार, आन्दोलनको क्रममा देशभरका सार्वजनिक सवारी साधनहरू ग्यारेजमै थन्क्याइनेछन्। उनले रातोपाटीसँग कुरा गर्दै भने, “सरकारले हाम्रो आवाज नसुनेपछि बाध्य भएर गाडी ग्यारेजमै राख्ने निर्णय गरेका हौं।”
गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली विरुद्ध व्यवसायीहरू आन्दोलित भएका हुन्। सो नियमावलीले निजी प्रयोजनका लागि खरिद गरिएका सवारीहरूलाई भाडाका सवारी सरह सञ्चालन गर्न दिने व्यवस्था गरेको भन्दै व्यवसायीहरू आक्रोशित छन्। उनीहरूको माग छ— यस्तो नियमावली खारेज गरिनुपर्छ।
राईका अनुसार, यसअघि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाइएको थियो। “तर, सरकार गम्भीर नभएको देखेपछि अब सवारी साधन घरमै राख्ने निर्णय गरेका छौं,” उनले बताए।
आइतबार सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस बन्दका कारण आम जनतामा पर्न सक्ने असरप्रति हामी दुःखी छौं। तर, हाम्रो माग सम्बोधन नगर्ने नेपाल सरकार नै यसको सम्पूर्ण जिम्मेवारी वहन गर्नुपर्नेछ।”
विज्ञप्तिमा सबै उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारी तथा सरोकारवालालाई आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरिएको छ। समितिले सार्वजनिक यातायात जोगाउनका लागि सबै पक्षले चासो देखाउनु आवश्यक रहेको बताएको छ।


