प्रधानमन्त्री ओलीको स्पेन भ्रमण : के-के छन् कार्यतालिका ?
असार १४, २०८२ । प्रधानमन्त्री केपी शर्मा ओली कतार एयरवेजको जहाजबाट दोहा हुँदै आज साँझ स्पेन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भ्रमण टोलीमा २१ जना सहभागी हुनेछन्।
प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम यस प्रकार रहेको छ:
असार १४
साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरिनेछ।
असार १५
दिउँसो करिब ४ बजे स्पेनको सोभिया पुग्नेछन्। त्यही दिन नागरिक समाजले आयोजना गरेको प्लेनरी समापन सत्रमा सम्बोधन गर्ने छन्। साँझ ५ बजे स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजसँग भेटवार्ता हुने छ भने राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिएको रात्रीभोजमा सहभागी हुनेछन्।
असार १६
बिहान उद्घाटन सत्रमा सहभागी भई, अपरान्ह गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। दिउँसो १ बजे मित्र राष्ट्र स्तोनियाका राष्ट्रपति अलार कारिससँग भेटवार्ता हुनेछ। दिउँसो ३ देखि ४ बजे नेपालको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गरिने छ। अपरान्ह ४ देखि ५:१५ बजे इजिप्टका प्रधानमन्त्री, पोर्चुगलका प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघ महासचिवसँग भेटवार्ता गर्ने छन्। दिनको अन्त्यमा स्पेन सरकारका अध्यक्षद्वारा दिइने औपचारिक रात्रीभोजमा सहभागी हुनेछन्।
असार १७
बिहान ८:३० बजे अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै उद्घाटन मन्तव्य दिने छन्। बिहान १०:३० बजे ‘वैश्विक ऐक्यवद्धतामा लगानी’ शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा सम्बोधन गर्नेछन्। अपरान्ह नेपाल, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजकको संयुक्त आयोजनामा हुने जलवायु वित्तीय व्यवस्थासम्बन्धी कार्यक्रममा सम्बोधन गर्नेछन्। त्यस्तै, पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह सम्बन्धी कार्यक्रममा पनि सम्बोधन गर्नेछन्। दिउँसो ३ बजे अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन विषयक राउण्ड टेबलमा भाग लिनेछन्। साँझ ८ बजे नेपाली राजदूतले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन्।
असार १८
सेभियाबाट म्याड्रिड फर्कनेछन् र केही कार्यक्रममा सहभागी हुनेछन्। साँझ ५ बजे नेपाल–स्पेन बिजनेश तथा लगानी प्रबर्धन कार्यक्रममा सम्बोधन गर्ने छन्।
असार १९
स्वदेश फर्किनुअघि रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँग भेटघाट गर्नेछन्। सान्टियागो वर्नाबाउ रंगशालाको अवलोकन गर्नेछन्। स्पेनमा रहेका नेपाली समुदायसँग अन्तिम भेटघाट गरी राति १०:४५ बजे दोहाको लागि प्रस्थान गर्नेछन्।
असार २०
दिउँसो ४:४५ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
यस भ्रमणमा प्रधानमन्त्री ओलीले विकास सहयोग, लगानी प्रवर्धन, जलवायु परिवर्तन तथा अल्पविकसित राष्ट्रहरुको विषयमा विभिन्न उच्चस्तरीय कार्यक्रम र भेटवार्तामा भाग लिने छन्।

