देश

प्रधानमन्त्री ओलीको आपत्ति : राष्ट्रपतिलाई तिमी लेख्नु भाषाको अपमान हो

Sharing is caring!

वैशाख २४, २०८२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियामा उच्चपदस्थ व्यक्तित्वप्रति प्रयोग हुने सम्बोधनप्रति आपत्ति जनाएका छन्।

गोरखापत्र संस्थानको १२५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिजस्ता सम्माननीय पदधारीहरूलाई ‘तिमी’ भनेर सम्बोधन गरिनु भाषाको गरिमाविपरीत भएको बताएका हुन्। उनले नेपाली भाषाको शुद्धता कायम राख्न मिडियालाई आग्रह गरे।

उनको भनाइमा, “गोरखापत्रलाई नेपाली भाषाको शुद्धताको मानक मानिन्छ। ‘राष्ट्रपतिले भने’ भन्नुहुन्छ कि ‘भन्छ’ भन्नुहुन्छ, यो स्पष्ट हुनुपर्छ। ‘नातीसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे’ भन्ने नेपाली भाषा होइन।”

प्रधानमन्त्री ओलीले औपचारिक भाषाको प्रयोगमा सम्मानजनक ढंगको सम्बोधन अनिवार्य हुनुपर्ने धारणा राखे। उनले भने, “राजतन्त्रकालमा राजालाई ‘नजर गर्थे’, ‘सवारी गर्थे’ जस्ता सम्मानजनक शब्द प्रयोग गरिन्थ्यो। राजतन्त्र हटेपछि जनताका छोराछोरीलाई सम्मान नगर्ने भन्ने त होइन नि। भाषा गरिब भए पनि हामीले आफ्नो भाषाको कद घटाउनु हुँदैन।”

कार्यक्रममा प्रधानमन्त्रीले भाषा र संस्कृतिको सम्मानसाथै मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले मिडियाले जनतालाई शिक्षा दिने माध्यमका रूपमा भाषाको सुद्धता र मर्यादा कायम गर्नुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *