कीर्तिपुर रंगशाला ढिलाइप्रति प्रधानमन्त्री ओली असन्तुष्ट, समयमै नसकिए सरकारले नसहने चेतावनी
वैशाख २२, २०८२ । सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमार्फत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको अन्तर्राष्ट्रियस्तरको रंगशालामा रुपान्तरण गर्ने निर्णय गरे पनि तोकिएको समय पूरा हुँदासम्म पनि निर्माण कार्य सम्पन्न हुन नसकेकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै वैशाख २४ गते ३०० दिनको म्याद सकिन लागेको उल्लेख गर्दै ढिलाइ हुनुका कारणबारे शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिहरूसँग स्पष्टिकरण लिएको बताएका छन्।
उनका अनुसार निर्माण कम्पनी र सम्बन्धित निकायले त्रिविको जग्गा हस्तान्तरणमा भएको ढिलाइ, रुख पन्छाउने कानुनी प्रक्रिया, निर्माण सुरु भएपछि परेको वर्षाका कारण कालो माटो पन्छाउनुपर्ने जस्ता समस्याका कारण समयमै काम सम्पन्न हुन नसकेको बताएका छन्। ती कारणले तीन सिफ्टमा काम गरे पनि तोकिएको समयभित्र काम पूरा गर्न नसकिएको उनीहरूले बताएका छन्।
प्रधानमन्त्री ओलीले अब थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडानको कार्य सम्पन्न गरिने प्रतिबद्धता आएको जनाएका छन्। साथै, उनले थपिएको म्यादभित्र पनि काम नसकिए सरकारले सहन नसक्ने चेतावनीसमेत दिएका छन्।
“कारण जेसुकै भए पनि तोकिएको म्यादभित्र काम सम्पन्न हुनु जरुरी थियो,” प्रधानमन्त्री ओलीको भनाइ छ, “सरकारको प्राथमिकता भनेकै कामलाई जवाफदेहीताका साथ समयमै सम्पन्न गर्नु हो।”
सरकारले ३०० दिनको म्यादसहित कीर्तिपुर रंगशालालाई आधुनिक रंगशालामा विकास गर्ने निर्णय गरेको थियो। हालसम्म रंगशालाको केही संरचना निर्माण भइसकेको जनाइएको छ भने बाँकी काम असारको अन्तिमसम्म सम्पन्न गरिने दाबी गरिएको छ।

