भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा प्रधानमन्त्री
जेठ १८, २०८२ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए सदन चल्न नदिने ‘बटमलाइन’बाट प्रतिपक्षी दलहरू ‘ब्याक’ नहुने देखिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने संवादका माध्यमबाट समाधान खोज्नुको साटो सार्वजनिक कार्यक्रमबाटै दलहरूलाई चिढ्याउन उद्यत देखिएका छन् । प्रधानमन्त्री ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको भन्दै उनको बचाउ गरेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको देखिएको बताउँदै भनेका छन्, ‘यस्तो अवस्थामा प्रतिपक्षी दलले असम्भव माग (बटमलाइन) राखेर सदन अवरोध गर्नु जरुरी छैन ।’ आफूले प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्ने बताउँदै उनले माग राख्दा वा विरोध गर्दा आधारचाहिँ चाहिने बताए । ‘गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्, एउटा कर्मचारीलाई अख्तियारले बोलायो, बयान लिएको सुनेको छैन, प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वाभाविक मान्नुपर्दैन,’ प्रधानमन्त्री ओलीले थपे, ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सीआईबीले छानबिन गरिरहेको थियो, अहिले त्यस्तो अवस्था होइन, त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो, यसरी विरोध गरिएको छ कि मानौं ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन ।’
उनले विपक्षी दलहरूले बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेऊभन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेऊ भन्दा हाल्न नसकिएजस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामा माग्नु अनुचित र निराधार भएको जनाएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रतिपक्षी दलहरूको अडान छ । उनीहरूले गृहमन्त्रीले राजीनामा नदिए सदन चल्न नदिने अडानसहित सदन अवरुद्ध गर्दै आएका छन् ।
गत १३ जेठदेखि सदन अवरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरूले १५ जेठमा सरकारले बजेट ल्याउँदा अवरोध गरेनन् । अब मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै छ । लेखकको राजीनामा माग गर्दै आएका उनीहरूले अब बस्ने सदनमा अवरोध जारी राख्ने जनाइसकेका छन् ।
भिजिट भिसा प्रकरण चर्किंदै गएपछि सदनदेखि सडकसम्म गृहमन्त्री लेखकको राजीनामाको आवाज उठ्दै आएको छ । अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले गृहमन्त्री लेखक राजीनामा दिन तयार पनि भइसकेका थिए । तर, गत बुधबार नै प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिनुनपर्ने निष्कर्षसहित उनलाई रोकेका थिए । त्यसपछि प्रतिपक्षी दलहरू झन् आक्रामक रूपमा अगाडि बढेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), आमजनता पार्टी (आजपा) सहितका दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन् ।
माओवादी केन्द्र र रास्वपाको छुट्टाछुट्टै बसेको बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने निर्णय गरेका छन् । माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि उठेको प्रश्न सामान्य नभएको बताउँदै उनले राजीनामा नदिएसम्म सदन चल्न नसक्ने बताए । ‘गृहमन्त्रीमाथि अहिले जुन किसिमले प्रश्न उठेको छ, यो सामान्य प्रश्न होइन, सामान्य प्रश्न भएको भए हामी संसद् अवरुद्ध गर्दैनथ्यौं, बडो चाखलाग्दो कुरा पनि छ, यो संसद्को यात्रा लामो समयदेखि म हेरिरहेको छु, अघिल्लो संसद्मा केही मन्त्रीहरूमाथि गम्भीर प्रश्न उठिसकेपछि राजीनामा दिएका थिए र मार्गप्रशस्त गरेका थिए,’ माओवादी सांसद मोदीले भने ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि केही प्रश्न उठ्दा शर्माले निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गरेको दृष्टान्त उनले सुनाए । एमालेका मन्त्रीहरूमाथि पनि प्रश्न उठ्दा कुनै छानबिनबिना नै मार्गप्रशस्त गरेको मोदीले स्मरण गराए । जनार्दन शर्मा छानबिन सकिएपछि निर्दोष भएर पुनः मन्त्रीको जिम्मेवारीमा फर्किएको पनि उनले इतिहास सुनाए ।
अहिलेका गृहमन्त्री लेखकले पनि सदनमा उभिएर यदि मन्त्रीमाथि प्रश्न उठ्यो भने छानबिनका लागि सहयोग पु¥याउन राजीनामा दिनुपर्छ भनेर बोलेको स्मरण उनले गरे । सांसद मोदीले भने, ‘अहिलेका गृहमन्त्रीले नै भ्रष्टाचारको वा आचरणका विषयमा जनताले प्रश्न उठाएपछि मार्गप्रशस्त गर्नुपर्छ भनेर उहाँले स्वयं बोल्नुभएको हो तर अहिलेको यस प्रकरणमा भने उहाँहरूले यो कुरा एउटा कर्मचारीलाई मात्रै फकाइरहनुभएको छ, कर्मचारीलाई मात्रै दोष देखाएर आफू पन्छिने बानी कसैले गर्छ भने त्यो गलत हो ।’
उनले गृहमन्त्रीमाथि यत्रो आरोप लागेर प्रश्न उठिरहँदा प्रधानमन्त्री ओलीले भने राजीनामा दिन नपर्ने भनेर गरेको बचाउको आलोचना गरे । माओवादी केन्द्रका सांसद मोदीले भने, ‘आफ्नै क्याबिनेटको मन्त्रीमाथि यत्रो गम्भीर प्रश्न उठ्दा उहाँ गम्भीर बचाउमा उत्रिएपछि आमजनताले के सोचिराखेका होलान् रु के भनिराखेका होलान् रु कस्तो गम्भीर प्रश्न उठिरहेको होला रु जुन उद्देश्यले यो सरकार बनेको थियो, भ्रष्टाचारीलाई संरक्षण गर्ने, दलाल माफियाहरूलाई संरक्षण गर्ने, बिचौलियाको सेटिङबाट काम गर्ने हो, त्यही भएर अहिलेका गृहमन्त्री र प्रधानमन्त्री लागिरहेका छन्, हामीलाई यसमा अनौठो लागिरहेको छैन ।’
राजसंस्था, हिन्दू राष्ट्रसहित माग गर्दै राप्रपा सडक आन्दोलनमा छ । यद्यपि, सदनमा माओवादी केन्द्र र रास्वपासहितका दलहरू सँगै छन् ।
उता, प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवासहितका नेताहरू लेखकको बचाउमा उत्रिँदा कांग्रेसकै कतिपय नेताहरूले लेखकले राजीनामा दिनुपर्ने सुझाव सार्वजनिक रूपमै दिँदै आएका छन् ।
प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेपछि सदनमा बोल्न नपाएका गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको संसद् भवनबाटै पत्रकार सम्मेलनमार्फत जनाएका थिए । यो खबर राजधानीबाट लिएका हौ ।

