क्यान्सर बिरामीका लागि किमोथेरापी निःशुल्क गरिने तयारी : मन्त्री पौडेल
जेठ १०, २०८२ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर पीडितलाई लक्षित गर्दै किमोथेरापी (किमो) सेवा निःशुल्क प्रदान गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
शनिबार मोरङको धनपालथान गाउँपालिकामा आयोजित वृहत् स्वास्थ्य शिविरको उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले यस्तो योजना अगाडि बढाइएको बताएका हुन्। उनका अनुसार क्यान्सरको उपचारमा देखिएको आर्थिक भार घटाउन सरकार निःशुल्क किमोथेरापी सेवा सुरु गर्ने दिशामा काम गरिरहेको छ।
कार्यक्रममा मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूबाट मात्रै सबै नागरिकलाई गुणस्तरीय सेवा दिन नसकिने स्वीकार गर्दै निजी क्षेत्र तथा सामाजिक संघसंस्थासँगको सहकार्य अपरिहार्य रहेको बताए। उनले भने, “स्वास्थ्य सेवामा विद्यमान बेथिति अन्त्य गर्दै नागरिकले सहज, सरल र गुणस्तरीय सेवा पाउने वातावरण बनेमा मात्र लोकतन्त्रको वास्तविक अनुभूति गर्न सकिन्छ।”
उनले सार्वजनिक स्वास्थ्य प्रणाली सुधारका लागि पूर्वाधार विस्तार र थप लगानीको आवश्यकता रहेको स्पष्ट गरे।
कार्यक्रममा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा देखिएको समस्या पनि मन्त्री पौडेलले उठाए। उनका अनुसार प्रदेश सरकारले उक्त केन्द्रलाई दुई वर्षका लागि मात्र संचालन जिम्मा दिएकोले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत दीर्घकालीन रूपमा सञ्चालन गर्न समस्या देखिएको हो। उनले यस विषयमा प्रदेश सरकारले पूर्ण जिम्मेवारी लिनुपर्ने वा केन्द्र गंगालाललाई स्थायी रूपमा हस्तान्तरण गरिनुपर्ने विकल्प प्रस्तुत गरे।
स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउँदै सबै प्रकारका उपचारलाई यसको दायराभित्र ल्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मन्त्री पौडेलले सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

