समाचार

सगरमाथा संवाद जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने

Sharing is caring!

वैशाख ३०, २०८२ । आगामी जेठ २ गतेदेखि ४ गतेसम्म राजधानी काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएकी हुन्।

उनका अनुसार, यसपटकको सगरमाथा संवादको मुख्य विषयवस्तु ‘क्लाइमेट चेन्ज, माउन्टेन्स एन्ड द फ्युचर अफ ह्युम्यानिटी’ रहेको छ। यो संवाद नेपाल सरकारले स्थापना गरेको अन्तर्राष्ट्रिय मञ्च हो, जसमा मानव अस्तित्वसँग जोडिएका विश्वव्यापी समस्या, जलवायु परिवर्तन, पर्वतीय क्षेत्रका संकट र समाधानमाथि छलफल गरिन्छ।

परराष्ट्रमन्त्री राणाले भनिन्, “नेपालका हिमाल र हिउँ पग्लिँदै जानु विश्वका लागि गम्भीर चुनौती हो। यो नेपाल मात्रको विषय होइन। त्यसैले सगरमाथा संवादमा विश्वका विभिन्न मुलुकका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।”

उनले यो कार्यक्रम राजनीतिक उद्देश्यले नभइ, जलवायु परिवर्तनमा केन्द्रित भएर आयोजना हुने स्पष्ट पारिन्। कार्यक्रमको तयारीबारे विभिन्न चरणमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइँदै आएको पनि उनले बताइन्।

उनका अनुसार सगरमाथा संवादमा सहभागी हुने प्रतिनिधिहरू जलवायु संकट, हिमाली क्षेत्रको संरक्षण, कार्बन न्यूट्रालिटी, वातावरणीय न्याय, हरित उर्जा, र नीति निर्माणसम्बन्धी गम्भीर विषयमा अनुभव आदानप्रदान गर्नेछन्।

मन्त्री राणाले थप भनिन्, “यो बहु–सरोकारवाला मञ्च हो। यसले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरका विषयमा छलफल गर्ने अवसर प्रदान गर्छ। जीवनका सबै क्षेत्रका मानिसलाई एकै स्थानमा ल्याएर सकारात्मक परिवर्तनका लागि छलफल र समाधान प्रस्तुत गर्ने उद्देश्यले यो संवाद आयोजना गरिएको हो।”

स्मरण रहोस्, सगरमाथा संवाद नेपाल सरकारको पहलमा स्थापित अन्तर्राष्ट्रिय फोरम हो, जसले उच्चस्तरीय बहसमार्फत वातावरणीय चुनौती, विकासका दिगो उपाय र विश्व समुदायबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

यस वर्षको संवादमा सहभागी हुन विभिन्न मुलुकका जलवायु विज्ञ, नीति निर्माताहरू, वैज्ञानिक, पर्वतीय संरक्षणकर्मी, र अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *