खेलकुद

प्रकाश राईलाई मिस्टर काठमाडौं उपाधि

Sharing is caring!


भदौ ३०, २०८१ । फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।
विभिन्न ५ तौलसमूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका हुन् । प्रकाश पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै मिस्टर काठमाडौं उपाधि होडमा प्रवेश गरेका थिए । प्रकाशले मिस्टर काठमाडौंका लागि १ लाख ५० हजार र आफ्नो स्पर्धामा पहिलो भएवापत छुट्टै १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

अन्य ५ स्पर्धामा पहिलो हुँदै मिस्टर काठमाडौंका लागि प्रतिस्पर्धा गर्ने खेलाडीमा पुरुष ५५ केजीमा डिभाइन फिजिकल फिट्नेसका राजकुमार मानन्धर, ६० केजीमा एक्सट्रिम फिट्नेसका चनबहादुर थापा, ६५ केजीमा ग्यालेक्सी फिट्नेसका हर्कबहादुर राई, ७० केजीमा कालीमाटी फ्रेन्डसिप जिमका देवेन्द्र वज्राचार्य र ७५ केजीमुनि फिट्नेस टाइमका कृष्णप्रसाद श्रेष्ठ रहेका छन् । छ स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको जुनियर पुरुष शारीरिक सुगठनमा डाइन्यास्टी फिट्नेस क्लबका आदित्य श्रेष्ठ पहिलो, दि जिम एक्सका रिसब श्रेष्ठ दोश्रो र अल्टिमेट लिफ्टिङ क्लबका अशिमसिंह थापा तेश्रो भए ।

पुरुष मास्टर्स शारीरिक सुगठनमा डिभाइनका रमेश अधिकारीले स्वर्ण, माइ फिट्नेस जिमका सलिम कुराइसी दोश्रो र भुमही जिम एन्ड फिट्नेसका नवराज डुम्रे तेश्रो बने ।

पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि नेपाली युथ फिट एन्ड क्यालिस्थेनिकका निरल थापा पहिलो, आइरन प्याराडाइस फिट्नेस एन्ड स्पाका ज्ञानेश्वर चौधरी र फिट्नेस गराजका आकाश श्रेष्ठ शीर्ष तीन स्थानमा रहे ।

पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटर मुनी अल्टिमेट लिफ्टिङ क्लबका जमेश मगर पहिलो, एक्सपोज जिमका पुकार शाक्य दोश्रो तथा न्यु गोल्डस् फिजिकल सेन्टरका सुरज डंगोल तेश्रो भए । यि चार विधामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला एथलेटिक फिजिकमा जिम एक्सकी सानु श्रेष्ठ पहिलो, एक्सपोज जिमकी कमला श्रेष्ठ दोश्रो र गोल्डस् जिमकी उर्मिला श्रेष्ठ तेश्रो स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई गृह मन्त्री रमेश लेखक, संघीय सांसद् ठाकुर गैरे, पूर्व प्रदेश मन्त्री केशव स्थापित, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थ, आयोजक काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २ सय ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *