देश

आजको मौसम : तराईका केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना

Sharing is caring!

वैशाख ११, २०८२ । देशभर तापक्रम वृद्धि भइरहेका बेला मौसम विज्ञान विभागले गर्मीको असर थप बढ्न सक्ने चेतावनी दिएको छ। हाल नेपालमा स्थानीय वायुले आंशिक प्रभाव जमाइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा अधिकतम र न्यूनतम तापक्रम दुवै बढ्दो क्रममा छन्।

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था देखिएको छ भने बाँकी अधिकांश क्षेत्रको मौसम सफा रहेको छ। यद्यपि तापक्रममा निरन्तर वृद्धि भइरहेकाले देशका विभिन्न भागमा दैनिक जनजीवनमा प्रत्यक्ष असर पर्न थालेको छ।

महाशाखाका अनुसार मध्य र पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना बढ्दो छ। यसले स्वास्थ्य, कृषि, श्रम तथा अन्य दैनिक क्रियाकलापमा प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।

“आगामी दिनहरूमा तापक्रम अझै बढ्न सक्छ, विशेषगरी तराईका क्षेत्रमा अत्यधिक गर्मीको अवस्था आउन सक्छ,” विभागका एक अधिकारीले भने, “सर्वसाधारणले गर्मीबाट जोगिने उपायहरू अवलम्बन गर्नुपर्छ।”

यसैबीच, कोशी र गण्डकी प्रदेशका पहाडी भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको भन्दै सतर्क रहन समेत विभागले अनुरोध गरेको छ।

विभागले गर्मीबाट जोगिन पर्याप्त पानी पिउन, हलुका र शरीर ढाक्ने कपडा प्रयोग गर्न, दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन र विशेषगरी बालबालिका तथा वृद्धवृद्धाको हेरचाहमा ध्यान दिन सुझाव दिएको छ।

देशका अधिकांश स्थानमा गर्मीको असर तीव्र हुँदै गएकोले आगामी दिनहरूमा थप असर नपरोस् भन्नका लागि सतर्कता र पूर्वतयारी अनिवार्य हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *