Headlineसमाचार

भिजिट भिसामार्फत घुस खाने संरक्षकहरू छानबिनको दायरामा ल्याउनुपर्छ : सांसद श्रेष्ठ

Sharing is caring!

असार ६, २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले भिजिट भिसाको नाममा हुने भ्रष्टाचारप्रति तीव्र आक्रोश पोख्दै त्यसमा संलग्न राजनीतिक संरक्षकहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेकी छन् ।

प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै श्रेष्ठले सरकारको रवैयाप्रति गम्भीर असन्तुष्टि जनाइन् । “सांसदको आवाज नसुन्ने सरकारले आम जनताको पीडा के सुन्‍छ ?” भन्दै उनले सरकारमाथि प्रश्न उठाइन् ।

उनले नेपाली युवा विदेश जान ऋणसम्म लिन बाध्य हुनुको जडभूत कारणहरू पहिल्याएर त्यसको समाधानतर्फ सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याइन् । “विदेश जानु उपलब्धिको विषय होइन, बाध्यता हो । भिजिट भिसा लिएर दास जस्तै श्रमिक बनेका नेपालीहरूको दुस्खको जड के हो ? किन सरकार गम्भीर छैनरुू उनको प्रश्न थियो ।

श्रेष्ठले भिजिट भिसाको नाममा हुने अवैध कारोवारमा संलग्न राजनीतिक संरक्षण प्राप्त व्यक्तिहरूमाथि संसदीय छानबिन समिति वा उच्च स्तरीय न्यायिक छानबिन आवश्यक रहेको बताइन् ।

“कसैले विदेश जान घुस लियो, अनि त्यसबाट कति भाग आफूलाई पर्यो भनेर हिसाब गर्‍यो भन्ने थाहा हुँदा पनि सरकार मौन छ,” उनले भनिन्, “यति धेरै नै गिरेको हो त हाम्रो शासन प्रणाली?”

सांसद श्रेष्ठका अनुसार रास्वपाले पटक–पटक आवाज उठाउँदा पनि सरकारबाट कुनै सुनुवाइ नभएपछि बैठक बहिष्कार गरिएको हो । उनले छानबिनको माग र युवाको भविष्यप्रति चिन्ताजनक अवस्थामाथि सरकार संवेदनशील नभएसम्म रास्वपाको अडान यथावत रहने स्पष्ट पारिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *