धकेलियो जनमत–नाउपाबीचको पार्टी एकता
वैशाख १९, २०८२ । डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको पार्टी एकता अलमलमा परेको छ । नाउपाका संरक्षक रेशमलाल चौधरी अदालतको ‘फेक’ पत्रका आधारमा पक्राउ र रिहापछि नेताहरू त्यसको समीक्षामा जुटेका छन् ।
चौधरी बुधबार अदालतको फेक पत्रका आधारमा पक्राउ परेर साढे ४ घण्टापछि रिहा भएका थिए । त्यसपछि नेताहरूले एक–दुई दिनमै पार्टी एकता हुने बताए पनि अलमल बढ्दै गइरहेको छ । दुई पार्टीबीच एकता गर्न सबै तयारी पूरा भइसक्दा पनि पार्टी एकतामा ढिलाइ हुने भएको छ ।
‘पार्टी एकताको तयारी त भई नै सकेको थियो तर राज्यपक्षदेखि अन्य विभिन्न कारण ढिलाइ हुने भयो, एकताका लागि दुवै पार्टीले केन्द्रीय समिति, कार्यकारिणी समितिमा राख्नुपर्ने नामावली अझै टुंगो लगााउन सकेका छैनन्, अर्कोतर्फ राज्यपक्षबाट पनि एकता नहोस् भन्ने षड्यन्त्र भइरहेको छ,’ नाउपाका एक नेताले भने ।
जनमत र नाउपाबीच पार्टी एकताका ’दयगतमा छलफल चल्दैगर्दा दुई साताअघि जनमतका अध्यक्ष राउतले एकता भाँड्न षड्यन्त्र भइरहेको बताएका थिए । ज्यान मार्नेदेखि घरभित्रै झगडा लगाएर जसरी पनि पार्टी एकता भाँड्न खोजिएको उनले बताएका थिए ।
अर्कोतर्फ दुवै पार्टीले एकतापछि कार्यकारिणी समिति, केन्द्रीय समितिको नामावली टुंगो लगाउन बाँकी नै छ । दुवै पार्टीका बीचमा एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहने सहमति भइसकेको छ । चुनाव चिह्न नाउपाले प्रयोग गरेको ढकिया रहनेछ । यस्तै, पार्टीको झन्डा कलेजी रङको आयातकारको बीचमा सेतो ढकिया रहनेछ । एकीकृत पार्टीको संरक्षकमा चौधरी, अध्यक्षमा राउत र सहअध्यक्षमा श्रेष्ठ रहने सहमति भइसकेको छ ।
‘एकीकृत पार्टीको नाम, झन्डा, चुनाव चिह्न र संरक्षकमा रेशमलाल चौधरी, अध्यक्षमा डा। सीके राउत, सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहनेबाहेक अरू धेरै कुरा मिलाउन अझै बाँकी नै रहेको छ, त्यसकारणले समेत ढिलाइ हुने नै भयो,’ एकीकरण प्रक्रियामा सहभागी एक नेताले भने ।
२५ सदस्यीय पदाधिकारीसहितको सचिवालय रहने र सय सदस्यीय कार्यकारिणी समिति र ४ सयदेखि ७ सयसम्मको केन्द्रीय कमिटी रहने सहमति भए पनि संरक्षक, अध्यक्ष र सहअध्यक्षबाहेक दुवै पार्टीले अन्यको नामावली टुंगो लगाउन सकेका छैनन् । सचिवालय, कार्यकारिणी समितिदेखि केन्द्रीय समितिमा दुवै पार्टीबाट ५०–५० प्रतिशत रहने सहमति भएको छ ।
पार्टीको राजनीतिक सिद्धान्त भने ‘सामुदायिक समाजवाद’ रहनेगरी विधान तयारी गरिएको छ । दुवै पार्टीबीच भएको सहमतिअनुसार मधेश, कोशी र गण्डकी प्रदेशमा पार्टीको नेतृत्व जनमतको हुन्छ । यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशमा नाउपाबाट नेतृत्व गर्ने सहमति भएको छ । बाग्मतीमा दुवै पार्टीबीच थप छलफल गर्दै नेतृत्व टुंगो लगाइनेछ । तर, नेतृत्व गर्ने नेताका ’दयगतमा दुवै पार्टी मौन रहेका छन् ।
जनमत पार्टीका सचिव बीपी साहले पार्टी एकता छिट्टै हुने जनाएका छन् । रेशम चौधरीको पक्राउपछि दुवै पार्टी आन्तरिक समीक्षामा रहेको बताउँदै उनले पार्टी एकताको मिति छिट्टै नै तय हुने उनले बताए ।
‘पार्टी एकताको घोषणा हुँदैगर्दा कार्यक्रमस्थल कमलादीबाट एकीकृत पार्टीका संरक्षक रेशमलाल चौधरी पक्राउ पर्नु राज्यको षडयन्त्र नै हो, हामी यसको समीक्षामै छौं, दुवै पार्टीका बीचमा भएको सहमतिअनुसार छिट्टै नै पार्टी एकता हुन्छ,’ जनमतका सचिव साहले भने ।
चौधरी पक्राउसँगै रिहा भएपछि बुधबार साँझ बसेको जनमत र नाउपाको बैठकले तत्काल पार्टी एकता नगर्ने निर्णय गरेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जनाएका छन् । उनका अनुसार, चौधरीको गिरफ्तारीलाई ‘सामान्य कर्मचारीको त्रुटि’ भनेर स्विकार्न नसकिने जनमत पार्टीको धारणा छ र यस घटनाको गम्भीर समीक्षा भइरहेको छ ।
‘पार्टी एकता हामी गरेरै छाड्छौं तर त्यसअघि यो सबै घटनाको गम्भीर समीक्षा र छलफलमा छौं, हाललाई रोकिए पनि दुई–चार दिनपछि हामी पार्टी एकता गर्ने नै हो,’ प्रवक्ता यादवले भने ।
यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतलाई मार्ने धम्की आएको र दुई पार्टीको एकता रोक्ने खालका अभिव्यक्तिहरू आएकाले राउतले विभिन्न अन्तर्वार्ता र कार्यक्रममा यस’दयगत बोल्दै आएको समेत यादवले स्मरण गराए । पार्टी एकता प्रक्रिया केही दिनका लागि स्थगित भए पनि दुवै पार्टीले एकता गर्ने प्रतिबद्धता दोहो¥याएको उनले बताए ।
२०७५ सालमा गठन भएको राउत नेतृत्वको जनमत र डिल्लीबजार कारागारमै छँदा चौधरीले २०७८ सालमा श्रीमती श्रेष्ठको अध्यक्षतामा गठन गरेको नाउपाबीचमा लामो समयदेखि पार्टी एकताका लागि छलफल हुँदैआएको थियो । स्वतन्त्र मधेश अभियान चलाइरहेका राउतले ५ चैत २०७५ मा आफ्नै नेतृत्वमा सिरहाको लहानबाट जनमत पार्टी गठन गरेका थिए । १९ पुस २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । त्यतिबेला चौधरी टीकापुर काण्डका प्रमुख आरोपितका रूपमा जेलमै थिए ।
दुवै पार्टी एकीकृत भएपछि संघीय संसद्को प्रतिनिधिसभामा १० जना सांसद हुनेछन् । जनमतसँग ६ र नाउपासँग ४ जना सांसद रहेका छन् । जनमतबाट राउत मात्र निर्वाचित सांसद हुन भने बाँकी समानुपातिक सांसद हुन् । तर, नाउपाका चारै जना सांसद निर्वाचित हुन् । अहिलेको व्यवस्थानुसार जनमतले ३ प्रतिशत थ्रेसहोल्ड कटाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । यसैगरी, एकीकृत पार्टीको मधेश प्रदेशसभामा १४ सिट, सुदूरपश्चिम प्रदेशसभामा ७ सिट र लुम्बिनी प्रदेशसभामा ७ सिट हुनेछ । मधेश प्रदेशमा जनमतका सतिश सिंह मुख्यमन्त्री रहेका छन् । यो खबर राजधानीबाट लिएका हौ ।

