देशभर आंशिक बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
वैशाख २१, २०८२ । देशभर हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी मौसमी प्रणालीको प्रभावले विशेषगरी पहाडी भूभागहरूमा मौसम बदली भएको छ भने अन्य अधिकांश क्षेत्रमा आंशिक बदलीसँगै मौसम मुख्यतः सफा रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै, हिमाली क्षेत्रमा पनि केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रका थोरै स्थानमा हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
रातिको समयमा पनि पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै, देशका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षा र हिमपात हुनसक्ने भएकाले महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

