दलिय पत्रकारिता लोकतन्त्रका लागि घातक : सांसद सिंह
वैशाख २०, २०८२ । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको बलियो आधार भएको बताएका छन् ।
उनले भने, देश–विदेशमा रहेर निष्पक्ष, निर्भीक र उत्तरदायी पत्रकारिता गर्दै आएका सम्पूर्ण पत्रकारहरूलाई लोकतन्त्रको मजबुती र जनताको सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्न भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सांसद सिंहले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भने, “देश–विदेशमा रहेर निष्पक्ष, निर्भीक र उत्तरदायी पत्रकारिता, सत्य र तथ्यको पक्षमा कलम चलाउने पत्रकारीताले देशको लोकतन्त्र मजबुत र आमजनताको सूचनाको हकलाई सुनिश्चित गर्दछ ।
उनले दलिय युनियनमा आबद्ध पत्रकारिता लोकतन्त्रका लागि घातक भएको टिप्पणी गर्दै लेखे, “दलिय युनियनमा आबद्ध पत्रकारिताले कमजोर लोकतन्त्र र जनताको अधिकार कुल्चिने गर्दछ ।
अन्त्यमा उनले सबैलाई अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने र प्रेस स्वतन्त्रताको संरक्षणमा जिम्मेवार बन्न आह्वान गरेका छन् । “अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरौँ र प्रेस स्वतन्त्रताको संरक्षणमा हामी सबै जिम्मेवार बनौँ,” भन्दै सिंहले सम्पूर्ण पत्रकारहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

