देश

चार देशका प्रस्तावित राजदूतहरुको सुनुवाइ सकियो

Sharing is caring!

भदौ १९, २०८१ । संसदीय सुनुवाइ समितिमा चार देशका प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न भएको छ ।

बुधबार संसदीय सुनुवाइ समितिमा दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकाल, रूसका लागि प्रस्तावित राजदूत प्रा.डा.जंगबहादुर चौहान र दक्षिण कोरियाको राजदूतका लागि प्रस्तावित राजदूत डा.शिवमाया तुम्वाहाङ्फेको सुनुवाइ सम्पन्न भएको हो ।

सोही क्रममा दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा कपिलमान श्रेष्ठले सबै गतिविधिहरू विश्वास, विश्वास निर्माण, र पारस्परिक रूपमा लाभदायक सम्बन्ध अभिवृद्धि गर्न तयार गर्ने बताए ।

यस्तै, उनले राज्य–राज्य सम्बन्ध, व्यापार, पर्यटन, लगानी, रोजगारी, शैक्षिक, बौद्धिक, आदानप्रदान, र संलग्नताहरू जस्ता बहु–आयामी क्षेत्रहरूमा बलियो र पारस्परिक रूपमा लाभदायक द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने तरिकाहरू अन्वेषण र पहिचान गर्ने योजना रहेको पनि बताए ।

यस्तै, साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकालले साउदी अरबको राजदूतका हैसियतले काम गर्दा तय गरेका योजनाहरु सबै पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन् । 

उनले भने, ‘साउदी अरब र नेपालबीचको सम्बन्ध राम्रै हिसाबले अगाडि बढि रहेको छ । त्यहाँ नेपालीहरुको संख्या झण्डै चार लाख रहेको छ । मलाई के विश्वास छ भने मैले साउदी अरबको राजदूतका हैसियतले काम गर्न पाउदा मैले बनाएका योजनाहरु सबै पूरा गर्न सक्षम हुनेछु ।’

उनले समितिमा राष्ट्र प्रमुख वा उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने, श्रम र श्रमिक सम्बन्धी सम्झौता नवीकरण गर्ने, राजदुतावासको भवन निर्माण गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, आन्तरिक सेवा प्रवाह सुदृढीकरण गर्ने, प्रवासी नेपालीका समस्या रोकथाम, न्यूनीकरण र समाधान गर्ने, पर्यटन विविधीकरण, व्यापार घाटा न्यूनीकरण, श्रमिकमैत्री कानून निर्माणमा सहकार्य, विकासमा लगानी वृद्धि र लगानीमैत्री वातावरण तयार गर्ने जस्ता कार्य योजनाहरु प्रस्तुत गरेका छन् ।

यसको साथै, दक्षिण कोरियाको राजदूतका लागि प्रस्तावित राजदूत डा.शिवमाया तुम्वाहाङ्फेले नीतिगत योजना कार्यान्वयनमा भएका समस्याका कारणले दक्षिण कोरियाबाट लिन सक्ने लाभ लिन नसकेको भन्दै यसका बारेमा सरकारले सोच्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘दक्षिण कोरियामा ६९ हजार ४ सय ३८ जना नेपालीहरु गएर विभिन्न ठाँउमा विभिन्न पेशामा काम गरिरहेको अवस्था छ । नेपालले दक्षिण कोरियाबाट धेरै लाभ लिन सक्ने अवस्था छ तर हाम्रो नीतिगत योजना कार्यान्वयनमा भएका समस्याका कारण हामीले जति लाभ लिनुपर्ने थियो त्यती लिन सकेको छैन कि भन्ने कुराहरु छन् । यसमा धेरै चुनौतीहरु पनि छन् त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरा सरकारले सोच्न आवश्यक हुन्छ ।’

यस्तै, रूसका लागि प्रस्तावित राजदूत प्रा.डा.जंगबहादुर चौहानले पनि रुसीहरुमा नेपाल र नेपाली जनताप्रति रहेको सद्भावलाई सदुपयोग गर्नु हाम्रो कर्तव्य रहेको भन्दै अवसर पाए भने समितिबाट प्राप्त भएका सुझावहरुलाई साथमा लिएर काम गर्ने बताए ।

उनले भने, ‘रुसीहरुमा नेपाल र नेपाली जनताप्रति रहेको सद्भावलाई हामीले सदुपयोग गर्नुपर्छ त्यो हाम्रो कर्तव्य हो । रुस सधैँ हामीसँग सहयोगात्मक छ । हामीले रुससँगको सद्भावलाई प्रयोग गर्न सक्नुपर्छ भन्ने लाग्छ । अवसर पाए भने समितिबाट प्राप्त भएका सुझावहरुलाई साथमा लिएर काम गर्नेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *