भिजिट भिसा प्रकरण: गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध जारी रहने माओवादी केन्द्रको निर्णय
जेठ १९, २०८२ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संघीय संसद् अवरोध जारी राख्ने निर्णय नेकपा (माओवादी केन्द्र) संसदीय दलले गरेको छ ।
आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले गृहमन्त्री लेखकप्रति उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिँदै उनलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको हो । पार्टीका उपमहासचिव वर्षमान पुनले बैठकको निर्णय सार्वजनिक गर्दै भने, “उहाँमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ ।”
पुनका अनुसार गृहमन्त्रीमाथिको आलोचना केवल विपक्षीले मात्र नभई आम नागरिक, सञ्चार माध्यम र विभिन्न तर्फबाट उठिरहेको छ । “राजीनामा दिएर छानबिनमा सहयोग गर्नु नै उपयुक्त हुन्छ,” उनले भने, “यो सरकारको नैतिक धरातलमा पनि लागु पर्नुपर्ने विषय हो ।”
माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा सेटिङ र अनियमितता भएको ठोस प्रमाणहरू बाहिर आइसकेको भन्दै गम्भीर छानबिनको माग गरेको छ । “हजारौं मानिसलाई सेटिङको आधारमा विदेश पठाइएको छ, जो सेटिङमा परेनन्, उनीहरूलाई फिर्ता गरिएको छ र दुःख दिइएको छ,” पुनले भने ।
उनले स्पष्ट रूपमा गृहमन्त्रीलाई दोषी भनिएको होइन तर निष्पक्ष छानबिनका लागि पदमा बसेर अनुसन्धान प्रभावित हुन नदिन राजीनामा अपरिहार्य भएको बताए । “आजको विषय विषयान्तर गर्नु हुँदैन, प्रस्ट छ कि अनियमितता भएको छ,” पुनको भनाइ छ, “गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने हाम्रो स्पष्ट अडान हो ।”
पुनका अनुसार, भोलि संसद् बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बस्नेछ र त्यसपछि संसद् सञ्चालनबारे रणनीति तय गरिनेछ ।
माओवादी केन्द्रले संसद् सञ्चालनमा अवरोध हटाउने सर्त गृहमन्त्रीको राजीनामालाई पहिलो प्राथमिकता मानेको स्पष्ट पारेको छ ।

