सिप मेला २०८२ : छनोट प्रशिक्षार्थीका लागि आज टुँडिखेलमा अभिमुखीकरण कार्यक्रम
जेठ ७, २०८२ । काठमाडौँ महानगरपालिकाले ‘सिप मेला २०८२’ अन्तर्गत छनोट भएका प्रशिक्षार्थीहरूलाई लक्षित गर्दै आज अपरान्ह ४ः०० बजे टुँडिखेलमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।
महानगरपालिकाले कार्यक्रमका लागि आवश्यक एसएमएस हिजै पठाइसकेको जनाइएको छ। यद्यपि, केही प्रशिक्षार्थीहरू प्राविधिक कारणवश सन्देश प्राप्त गर्न नसकेको हुनसक्ने भन्दै उनीहरूलाई कार्यक्रम स्थलमै उपस्थित भई जानकारी लिन विशेष अनुरोध गरिएको छ।
साथै, तालिममा सहभागी हुन चाहँदा पनि आवेदन दिन छुट भएका इच्छुक व्यक्तिहरूका लागि कार्यक्रम स्थलमै अनलाइन क्युआर कोडमार्फत आवेदन दिने व्यवस्था समेत गरिएको महानगरपालिकाले जनाएको छ।
कार्यक्रममा सहभागी हुने सबै प्रशिक्षार्थीहरूलाई क्रमशः तालिममा सहभागी गराइने जानकारी दिइएको छ।

