Uncategorized

नवौं भक्तपुर महोत्सवमा दर्शकको घुईचो, डेढ लाखले गरे अवलोकन

Sharing is caring!

वैशाख ३, २०८२ । “नयाँ वर्ष, नयाँ सोच– युवाका लागि प्रगतिशील स्रोत” भन्ने नारासहित भक्तपुरको सल्लाघारी, तीनकुने चौरमा सञ्चालनमा रहेको नवौं औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवले उल्लेखनीय दर्शक आकर्षण गरिरहेको छ। महोत्सव सुरु भएको सातौं दिनसम्म करिब १ लाख ५० हजारले अवलोकन गरिसकेका छन्।

२०७८ सालदेखि नियमित हुँदै आएको यो महोत्सव यसपटक चैत २८ गतेदेखि सुरु भई बैशाख ७ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको आयोजना औद्योगिक शान्ति नेपाल संस्था द्वारा गरिएको हो। संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सवमा दैनिक उपभोग्य सामग्रीदेखि कृषि, हस्तकला, लत्ताकपडा, जुत्ता, भाँडाकुँडा, अटोमोबाइल, सूचना प्रविधि तथा आधुनिक कृषि औजारसम्मको प्रदर्शनी तथा बिक्री व्यवस्था गरिएको जानकारी दिए।

मोबाइल र इलेक्ट्रोनिक्स सामग्रीका लागि पनि विशेष स्टलहरू राखिएका छन्। महोत्सव संयोजक दीपक थापाले स्थानीय हस्तकला र कृषिजन्य उत्पादनहरूलाई प्राथमिकता दिँदै कार्यक्रम सञ्चालन गरिएको बताए।

परिवारसहित घुम्न आउने दर्शकका लागि बालबालिकाका लागि मनोरञ्जन पार्क, ड्रागन ब्रेक डान्स, नाउ, रोटे पिङ, रेन्जर, मारुति सर्कस लगायत आकर्षण रहेका छन्।

साथै महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, हास्यव्यङ्ग्य कार्यक्रम, फेसन शो, नृत्य प्रस्तुति तथा नृत्य प्रतियोगिता हुँदै आएका छन्, जसले महोत्सवलाई थप रमाइलो बनाएको छ।

मेलामा राखिएका १५० वटा स्टलहरूमा विक्रि हुने सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

संस्थाका कोषाध्यक्ष प्रीतम मल्लका अनुसार महोत्सवमा पाँच लाखभन्दा बढी दर्शकको आगमन हुने अनुमान गरिएको छ। प्रवेश शुल्क साधारण दर्शकका लागि ५० र ८० रुपैयाँ तोकिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

बैशाख १३ गते ‘भक्तपुर सांगीतिक साँझ–२०८२’ नामक विशेष सांगीतिक कार्यक्रम पनि सोही स्थलमा आयोजना गरिने भएको छ, जहाँ चर्चित गायक-गायिकाहरूको प्रस्तुति रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *