देश

सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

Sharing is caring!

वैशाख १७, २०८२ । नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे समझदारी भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र महासंघ प्रतिनिधिहरूबीच सहमति बनेको हो। सहमतिका बुँदाहरू मन्त्रिपरिषद्को स्वीकृति पश्चात कार्यान्वयनमा ल्याइएको छ।

नेपाल शिक्षक महासंघले २०८१ सालको माघ २० गतेदेखि सुरु गरेका थिए भने काठमाडौँ केन्द्रित २०८१ साल चैत २० गतेदेखीको शिक्षक/कर्मचारीको आन्दोलन हाललाई स्थगित गर्ने घोषणा गरेको छ। महासंघको राष्ट्रिय समिति र नेपाल सरकारबीचको सहमति तथा समझदारीका आधारमा यो निर्णय गरिएको हो।

शिक्षा मन्त्रालयले यस समझदारीलाई कार्यान्वयनमा ल्याउन अघिल्ला सात बुँदे प्रस्तावलाई आधार बनाएको छ। वर्तमान मन्त्री पन्तले पूर्व शिक्षामन्त्री विद्या भट्टराईलाई उक्त प्रयासको आधार तयार गरेकामा आभार व्यक्त गरेका छन्।

सहमतिको मुख्य ९ बुँदाहरू यस प्रकार छन्:

१. शिक्षक र विद्यालय कर्मचारीहरूको स्वास्थ्य उपचारका लागि निजामती अस्पताल, काठमाडौँमा सहुलियतसहितको सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने।

२. राहत, अस्थायी, पूर्व उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा तथा बाल विकास कार्यक्रमका शिक्षकको बिदा सञ्चित हुने व्यवस्था गरिने, र सेवाबाट अवकाश हुँदा त्यसको भुक्तानी एकमुष्ट उपलब्ध गराइने।

३. बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार सुनिश्चित गरिने।

४. आर्थिक वर्ष २०८२/८३ देखि स्थायी शिक्षकहरूको ग्रेड संख्या र पारिश्रमिक निजामती कर्मचारी सरह कायम गरिनेछ, जुन प्राथमिकदेखि माध्यमिक तहसम्म लागू हुनेछ।

५. राहत, अस्थायी, करार, साबिक उमावि, प्राविधिक र विशेष शिक्षा कोटिमा रहेका शिक्षकहरूलाई दुर्गम भत्ता दिने व्यवस्था प्रचलित कानुनअनुसार गरिने।

६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न कानुनी व्यवस्था गरिने।

७. शिक्षकलाई नेपाल सरकारको औपचारिक मर्यादाक्रममा स्थान दिने व्यवस्था मिलाइने।

८. आन्दोलनका क्रममा घाइते भएका शिक्षक, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारहरूको उपचार सरकारी अस्पतालमा निःशुल्क गरिने।

९. निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब र ग्रेड माध्यमिक द्वितीय श्रेणी सरह कायम गरिने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *