रविमाथिको अन्यायविरुद्ध चितवनमा हस्ताक्षर अभियानमा सहभागी हुँदै निकिता
असार १३, २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको अन्यायविरुद्ध चितवनमा आयोजना हुने हस्ताक्षर अभियानमा उनकी पत्नी निकिता पौडेल लामिछाने सहभागी हुने भएकी छिन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत अभियानमा सहभागी हुने घोषणा गर्दै उनले चितवनलाई ‘देवता र देवताजस्ता मान्छे बस्ने भूमि’ भन्दै न्यायको पक्षमा उभिन सबैलाई आह्वान गरेकी छिन्।
निकिताले लेखेकी छिन्, “मेरो श्रीमान् भन्नुहुन्छ– चितवनमा देवता र देवताजस्ता मान्छे बस्छन्। देवभूमि चितवनबाट म आफ्नै श्रीमान्को न्यायका लागि भोलि हस्ताक्षर अभियानमा सहभागी हुँदैछु।”
उनले विगतमा जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपाली जनताले रवि लामिछानेलाई सम्झिएको र उहाँले सधैं पीडितका पक्षमा सक्दो साथ र सहयोग गरेको स्मरण गराएकी छिन्।
निकिताले भनिन्, “आज स्वयं रवि लामिछानेमाथि चरम अन्याय भएको छ। अब जनताले नै न्यायको पक्षमा उभिनुपर्ने बेला आएको छ।”
उक्त भनाइसँगै सामाजिक सञ्जालमा #JusticeForRabiLamichhane ह्यासट्यागमार्फत लामिछानेका समर्थकहरूले अभियानलाई तीव्रता दिएका छन्।
शनिबार चितवनमा आयोजना हुने हस्ताक्षर अभियानमा निकिता लामिछानेको सहभागिताले अभियानमा थप ऊर्जा र जनसहभागिता बढाउने अपेक्षा गरिएको छ।


