देश

आन्दोलनबाट फर्किंदै गरेका शिक्षक चढेको रात्रिबस झापामा दुर्घटना, १६ जना घाइते

Sharing is caring!

वैशाख १३, २०८२ ।  शिक्षक आन्दोलनबाट घर फर्किंदै गरेका शिक्षक चढेको रात्रिबस झापाको शिवसताक्षी नगरपालिका–९ मा दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

शुक्रवार बिहान ५ः३० बजे प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक बस दूधे भन्ने स्थानमा अनियन्त्रित भई पल्टिएको हो। बस काठमाडौँबाट झापा आउँदै थियो।

दुर्घटनापछि घटनास्थलमा पुगेको झिलझिले इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले घाइतेहरूको उद्दार गरी विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा भर्ना गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। उनीहरूमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था गम्भीर रहेको छ।

घाइतेमध्ये एक लीलाप्रसाद भण्डारीका अनुसार बसमा समस्या सुरुबाटै देखिएको थियो। “ड्राइभरको सिट पछाडि थिएँ, गाडी पहिल्यैदेखि अस्वाभाविक रूपमा हल्लिरहेको थियो,” उनले भने, “एक्कासी पल्टियो, गम्भीर दुर्घटना भयो। इन्धन पोखिरहेको थियो, त्यसैले घाइते अवस्थामै मैले अरूलाई गाडीबाट निकाल्न सहयोग गरेँ।”

बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार लापरवाहीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

बसमा रहेका सबै यात्रुहरू शिक्षक आन्दोलनपछि घर फर्किंदै थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यात्रुको सुरक्षालाई लिएर उठेका प्रश्नहरू फेरि एकपटक गहिरिएका छन्। रातभर यात्रामा हुने थकाइ, ड्राइभरको अनुभव र गाडीको मर्मतसम्भारबारे नियमित अनुगमनको आवश्यकता अहिले झनै महसुस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *