नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सम्हाले राष्ट्र बैंकको नेतृत्व
जेठ ७, २०८२ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज (बुधबार) बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पदभार ग्रहण गर्दै राष्ट्र बैंकको नेतृत्व सम्हालनु भएको छ ।
गभर्नर पौडेलले राष्ट्र बैंकको स्वायत्तता कायम राख्दै नियमन र सुपरीवेक्षणमा जोड दिने बताउँदै उहाले भन्नुभयो, “वित्त नीतिबाट जे कुराहरू तय हुन्छन्, त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्ने छ, त्यसका लागि राष्ट्र बैंकको क्षमता बढाउन आवश्यक छ ।”
नागरिकको निक्षेपको सुरक्षा, कर्जा नीतिमा सुधार, र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै निर्णय लिने प्रक्रिया गम्भीरतापूर्वक अघि बढाइने पनि उहाँको भनाइ थियो । उहाँले नीति निर्माणलाई संवादमा आधारित बनाइने बताउँदै भने, “म आफैँ मात्र कुनै प्रस्ताव ल्याएर यसै गरौँ भन्ने पक्षमा छैन, सबै सरोकारवालासँग छलफल गरेर जान्छौँ ।”
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत हुनु बैंकको आन्तरिक मामिला भएको धारणा व्यक्त गर्दै डा. पौडेलले ५०० र एक हजार दरका नोट छपाइसम्बन्धी निर्णयमा हस्ताक्षरसमेत गर्नुभएको छ ।

