अमेरिकामा गुन्जिदै नेपथ्यको स्वर, नेपाली संगीतप्रेमीमा उत्साहको लहर
वैशाख ७, २०८२ । नेपाली लोक रक संगीतको अग्रणी ब्यान्ड ‘नेपथ्य’ फेरि एकपटक अमेरिकी भूमिमा आफ्नो सांगीतिक यात्रा लिएर उत्रिन लागेको छ। ‘नेपथ्य लाइभ इन बोस्टन’ नाम दिइएको यो सांगीतिक कार्यक्रम आगामी जुन ११ तारिख, बुधवारका दिन बोस्टनस्थित ‘रोयाले बोस्टन’ मा आयोजना हुने भएको हो।
डिजे मुकुन्द ईण्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको यो कन्सर्टलाई भव्य बनाउने तयारीमा आयोजकहरू जुटिरहेका छन्। विगत लामो समयदेखि अमेरिकामा नेपाली कलाकारहरूसँग विभिन्न सांगीतिक कार्यक्रम गर्दै आएको यस समूहले यसपटक नेपथ्यलाई बोस्टन ल्याउने पक्का गरेको हो।
डिजे मुकुन्द ईण्टरटेनमेन्टका प्रमुख मुकुन्द पोखरेलका अनुसार, “नेपथ्य बोस्टन मात्र होइन, अमेरिका भरिका सातवटा राज्यमा प्रस्तुत हुँदैछ। बोस्टनको कार्यक्रममा भने विशेष अपेक्षा गरिएको छ, किनकि यहाँको नेपाली समुदायमा नेपथ्यको बेग्लै क्रेज छ।”
नेपथ्य ब्यान्डले पस्किएका ‘भेडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो’, ‘मै मरि जाउँला’, ‘आँगनैभरि हिउँ नै झरे’, ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरति’, ‘चरि मर्यो’, ‘कोशीको पानी’, ‘रेसम’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’, ‘जोमसोम बजारमा’, ‘कर्णाली’ र ‘तालको पानी’ जस्ता गीतहरूले नेपाली संगीतप्रेमीहरूलाई वर्षौंदेखि मोहित बनाउँदै आएका छन्।
ब्यान्डका मुख्य गायक अमृत गुरुङको नेतृत्वमा अमेरिका हुँदै विश्वका विभिन्न ठाउँमा नेपाली संगीतको मिठास फैलाउँदै आएको नेपथ्यले यस्तै सांगीतिक प्रस्तुतिहरूबाट नेपाली गीत–संगीतलाई विश्वसामु चिनाउने कार्य गरिरहेको छ।
नेपथ्य ब्यान्डका लागि बोस्टनको यो लाइभ कन्सर्ट मात्र एउटा कार्यक्रम नभई, प्रवासमा रहेका नेपालीहरूका लागि स्मृतिका धरोहर बन्ने विश्वास गरिएको छ। कार्यक्रमको टिकट अग्रिम बिक्रीमा खुलेको जानकारी आयोजकले दिँदै उपस्थितिका लागि नेपाली समुदायलाई आह्वान गरेका छन्।
अमेरिकाको विभिन्न शहरमा आयोजना हुने नेपथ्यको यो सांगीतिक यात्रा प्रवासमा रहनु भएका नेपालीहरूसँगको भावनात्मक सम्बन्ध पुनः सजीव बनाउने अवसर हो। नेपथ्यको संगीतले न केवल मनोरञ्जन दिन्छ, यो त देशको माया र पहिचान पनि बोकेको हुन्छ। यही कारण, ‘नेपथ्य लाइभ इन बोस्टन’ कार्यक्रममा सहभागी हुनेहरूका लागि यो एउटा सांगीतिक उत्सव बन्ने पक्का देखिन्छ।

