आइसिसी विश्वकप लिग–२ : नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो
जेठ २२, २०८२ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्समाथि ५ विकेटको शानदार जित निकालेको छ ।
डुन्डीमा बुधबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा २२५ रन बनायो। जवाफी ब्याटिङमा नेपालले ४७.१ ओभरमा लक्ष्य पूरा गर्दै लगातार दोस्रो जित दर्ता गर्यो ।
नेपालका आरिफ शेखले ७८ रनको अर्धसतकीय इनिङ्स खेलेर ‘प्लेयर अफ द म्याच’ बन्नुभयो । उपकप्तान दीपेन्द्रसिंह ऐरी ३८ रनमा अविजित रहँदा, कुशल भुर्तेलले २५, रोहित पौडेलले २३ र गुलशन झाले ११ रन बनाए ।
बलिङमा सोमपाल कामीले ३ विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र ललित राजवंशीले २र२ विकेट लिए ।
अब नेपाल आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्याण्ड्ससँग पुनः प्रतिस्पर्धा गर्नेछ । त्यसपछि तीन टोलीबिच टी–२० सिरिज हुनेछ ।

