देश

ओडिशास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत फेला

Sharing is caring!

वैशाख १९, २०८२ । भारतको ओडिशास्थित केआईआईटी (कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी) विश्वविद्यालयको छात्रावासमा एक नेपाली विद्यार्थी मृत अवस्थामा फेला परेकी छिन्। भुवनेश्वर प्रहरीका अनुसार बिहीबार साँझ होस्टेल कोठामै ती विद्यार्थी मृत भेटिएकी हुन्।

भुवनेश्वर प्रहरी आयुक्त एस. देव दत्त सिंहका अनुसार साँझ करिब ७ बजेतिर नेपाली छात्रा प्रेशा शाह को शव फेला परेको हो। प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा प्रहरी र फरेन्सिक टोलीले पुगेर आवश्यक प्रक्रिया अघि बढाएको बताइएको छ।

प्रहरीले घटनालाई अप्राकृतिक मृत्यु का रूपमा दर्ता गर्दै थप अनुसन्धान सुरु गरेको जनाएको छ। मृतक शाहको स्थायी ठेगाना वीरगञ्ज, नेपाल रहेको पुष्टि भएको छ।

घटनाको जानकारी शाहका परिवारजन र भारतस्थित नेपाली दूतावासलाई दिइसकिएको प्रहरीले जनाएको छ। नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ले घटनाबारे गम्भीर ध्यान दिइएको बताउँदै भारतस्थित नेपाली दूतावासमार्फत निगरानी भइरहेको जानकारी दिएकी छन्।

यसैबीच, भारतस्थित नेपाली राजदूत डा. शंकर शर्मा ले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा शोक सन्देश दिँदै आफू भारतीय विदेश मन्त्रालय, ओडिशा सरकार, प्रहरी तथा विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेको उल्लेख गरेका छन्।

केआईआईटी विश्वविद्यालयमै अघिल्लो वर्ष (२०८१ सालमा) अर्की नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टेलमै मृत अवस्थामा फेला परेकी थिइन्। ती घटनाहरूले नेपाली विद्यार्थीहरूको सुरक्षा सम्बन्धमा पुनः प्रश्न उठ्न थालेको छ।

प्रेसासँग जोडिएको घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रहरी अनुसन्धानपछि थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *