समाचार

कांग्रेस–एमाले एक ठाउँ हुँदा अर्थतन्त्र बलियो हुन्छ : डा. शेखर कोइराला

Sharing is caring!

असार २५, २०८१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यतिबेला शिक्षाको अवस्था निकै नाजुक रहेको बताएका छन् । आज खगेन्द्र न्यु लाइफ एजुकेशन सेकेन्ड्रि स्कुल जोरपाटीले आयोजना गरेको अपाङ्गता विद्यार्थीहरूलाई आवसीय छात्रवृत्ति र अन्य छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले भने, ‘शिक्षाको कुरा अहिले सबैलाई थाहा छ, हामी कस्तो शिक्षाबाट गुज्रिरहेका छौं, यस्तो नाजुक अवस्थामा पनि धेरै विद्यार्थीहरूले एसईइमा राम्रो नतिजा लिएर पास हुनु भएको छ । ’साथै उनले अहिले देशमा शिक्षा मात्र होइन राजनीतिमा पनि के हुँदैछ भन्ने जनमानसको चासो रहेको बताए ।

यसैबीच नेता कोइरालाले दुईटा ठुला दल कांग्रेस र एमाले मिलेर आलोपालो गरेर सरकारमा जाने निर्णय गरेको पनि बताए ।

उनले भने, ‘२८ गते विश्वासको मत प्रधानमन्त्रीले लिन्छु भन्नु भएको छ, विश्वासको मत लिने अधिकार संविधानले नै दिएको छ । राजीनामा गर्नुपर्छ या त विश्वासको मत छिटो ल्याउनुपर्छ भनेर केही हुनेवाला छैन यो सबै अधिकार संविधानले दिएको हुनाले यसमा हतार गर्नु उचित हुँदैन ।’

साथै उनले अहिले मिडियामा कुन रूपको सरकार बन्ने हो भनि टिकाटिप्पणी चलेका बेलासरकार ७६ (२) कै सरकार बन्नेमा विश्वस्त रहन आग्रह गरे ।

उनले भने, ‘शेखर त ७६ (३) कै सरकार खोजिराखेको छ भन्ने हल्ला सुनें । तर मैंले पहिले नै भनिसकेको छु हामीलाई स्थिर सरकार चाहिएको हो । अब अर्थतन्त्रलाई अगाडि बढाउने हिसावले दुई दल कांग्रेस र एमाले मिलेका हौं ।’
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, कांग्रेस नेता लोकेश ढकाल, भुपेन्द्र थापा, गोकर्णेश्वर नगरपालिका वार्ड नं–५ का वडाध्यक्ष नारायण सुवेदी, वार्ड नं–६ का वडाध्यक्ष नबराज लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याललगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *