शक्ति आर्जन गर्न सडकमा कांग्रेस
जेठ १४, २०८१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका माग राखेर कांग्रेस नेताहरुले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेताहरुले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्याली निकालेका थिए ।
विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीकाबीच संघीय संसदमा सरकारी विजनेशहरु अगाडि बढेपछि चिढिएका कांग्रेस नेताहरु थप शक्ति आर्जन गर्न सडक ओर्लिएका हुन् । आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका कांग्रेस नेताहरु यसलाई निरन्तरता दिने बताउँछन् ।
कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएका छन् । यसबारे छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने कांग्रेसको माग छ ।
गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएका थिए । ती विषयमा पनि छानबिन गर्नुपर्ने कांग्रेसको माग छ ।
अब यी मागहरु सडकमा समेत उठाएर सरकारमाथि दबाब बढाउने कांग्रेस नेताहरुको रणनीति छ । नेताहरुका अनुसार संसदमा आवाज उठाएता पनि सरकार बहुमतको बलमा अवरोधका बीच अगाडि बढेपछि सडक प्रदर्शनमा उत्रनु परेको हो ।
आइतबार कांग्रेस सांसदहरुको वेल घेराउ र नाराबाजीकाबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । यसअघि कांग्रेस नेताहरुको नाराबाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिएका थिए ।
अब आफूहरुको माग पूरा नहुँदासम्म सदन र सडक दुवैतिर आक्रामक रूपमा प्रस्तुत हुने रणनीति कांग्रेस नेताहरुको छ ।
आइतबारको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भनेका छन्, ‘कांग्रेस आफ्नो अडानबाट पछाडि हट्दैन, बरु अझ सशक्त रूपमा र सडकको कार्यक्रमलाई दह्रोसँग अगाडि बढाउँछ ।’
सहकारी ठगी प्रकरणमा छानबिन समिति बन्नैपर्ने कांग्रेसको मागमा सत्तारुढ दलहरू सहमत भएका छन् । तर, कार्यादेश टुंगो नलाग्दा समिति बन्न भने सकेको छैन ।
संसदीय समितिको कार्यादेश बनाउन कार्यदल बनेको छ । तर, कार्यदलमा पनि दुवै पक्षको पुरानै अडानका दोर्होयाएपछि सहमति जुटेको छैन ।
कांग्रेस गृहमन्त्री लामिछानेको नाम कार्यादेशमा लेख्न चाहन्छ । सत्तारुढ दलहरु यसमा सहमत छैनन् । कार्यदलभित्र सहमति नजुटेपछि शीर्षस्थ नेताहरुका बीचमा छलफल सुरु भएको छ तर, सहमति जुटेको छैन ।
सहमतिको प्रयासस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निजी निवास बूढानीलकण्ठ पुगेका थिए । तर, देउवाले पुरानै अडान दोहोर्याए ।
कांग्रेस गृहमन्त्रीमाथिको छानबिन अडानबाट पछाडि नहट्ने बताइरहेको मात्रै छैन, आइतबारबाट सडकको समेत सहारा लिएको छ ।
कांग्रेसले सदन र सडकबाट एकसाथ हिँड्ने नीति लिँदै गर्दा सहकारीको रकम अपचलनको विषयका साथसाथै गिरिबन्धु टि स्टेट लगायतमा भएको नीतिगत भ्रष्टाचारको विषय पनि उठाएको छ ।
भूमिसम्बन्धी ऐन, २०२१ मा हदबन्दी छुट भएको जग्गा जुन प्रयोजनमा प्रयोग भएको हो, त्यही प्रयोजनमा रहेसम्म मात्रै उपभोग गर्न पाइने व्यवस्था छ । ऐनमा उक्त जग्गा खरिदबिक्री तथा सट्टापट्टासमेत गर्न नपाइने व्यवस्था छ ।
तर, २०७६ बिभिन्न समयमा ऐन नै परिमार्जन गरेर जग्गा ‘सट्टापट्टा गरी बिक्रीवितरण गर्न सकिने’ प्रावधान राखिए । त्यसमार्फत भ्रष्टाचार गरेको र यो नीतिगत भ्रष्टाचार भएको आशंका सर्वोच्च अदालतको फैसलाले नै गरेको छ ।
यस सम्बन्धमा परेको निवेदनको गत वैशाख अन्तिम साता फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै हदबन्दी सम्बन्धी जग्गा कुनै पनि बहनामा प्रयोग ल्याउन वा अरु प्रयोजनका लागि भन्दै अन्यत्र सार्न नपाउने व्याख्या गरेको थियो ।
त्यसपछि प्रमुख प्रतिपक्षी कांग्रेसले झापाको गिरिबन्धु टी स्टेटको जग्गासम्बन्धी विवादका सम्बन्धमा सर्वोच्च अदालतको फैसलालाई आधार मानेर अनुसन्धान गर्नुपर्ने आवाज उठाउँदै आएको छ । यसमा एमाले अध्यक्ष केपी शर्मा ओली समेत नीतिगत भ्रष्टाचारमा आरोपित हुने कांग्रेस नेताहरु बताउँछन् ।
यो विषयलाई ब्यङ्ग्य गर्न आइतबार प्रदर्शनका क्रममा कांग्रेस नेताहरुले ‘सहकारी ठग कहाँ छन रु गिरिबन्धु ठग जहाँ छन् ?’ भन्ने प्ले कार्ड नै देखाएका छन् । यो खबर मध्यान्हबाट लिएका हौ ।

