‘नेपाल म्याङ्गो फेस्ट २०२५’ असार १३ देखि काठमाडौंमा सुरु हुँदै
असार १२, २०८२ । नेपाली आँपको बजारीकरण र प्रवर्द्धनका लागि काठमाडौंमा तीनदिने विशेष उत्सव ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ आयोजना हुने भएको छ। उत्सवको औपचारिक उद्घाटन यही असार १३ गते (जुन २७) दिउँसो १ बजे काठमाडौंको लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा हुनेछ। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
उत्सव काठमाडौं अर्गानिक्स, एग्रि नेपाल, अर्थियर एप र यूबी होल्डिङ्सको सहकार्यमा आयोजना गरिंदैछ। आयोजकका अनुसार फेस्टिभलमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम संगम अनुभव गर्न सकिनेछ।
फेस्टिभलको उद्देश्य नेपाली आँपको पहिचान विस्तार गर्नु, स्थानीय कृषकहरूको मूल्य श्रृंखला सुदृढ बनाउनु र प्राकृतिक तथा विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउनु रहेको छ। विशेषगरी तराई–मधेशमा उत्पादन हुने विविध प्रजातिका आँपहरूलाई चिनाउने प्रयास यसमार्फत गरिंदैछ।
फेस्टिभलमा १० भन्दा बढी प्रजातिका आँपहरू प्रदर्शनीमा राखिने छन्। साथै माल्दा, दशहरी, जरदा, किसानबोग र कलकत्तिया प्रजातिका आँपहरू प्रत्यक्ष रूपमा किसानहरूबाट खरिद गर्न सकिनेछ। यस्तै, २० भन्दा बढी आँप प्रयोग गरिएका परिकार तथा पेय पदार्थहरू फेस्टिभलमा सहभागी रेस्टुरेन्टहरूमा उपलब्ध हुनेछन्।
फेस्टिभलमा सबै उमेर समूहका लागि आकर्षक म्याङ्गो गेमहरू र रमाइला गतिविधिहरू पनि राखिने छन्।
तीन दिनसम्म सञ्चालन हुने म्याङ्गो फेस्टिभल काठमाडौंका तीन स्थान – लाजिम्पाटको वाल्नट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सिखेलको वाटरिङ होल – मा एकसाथ आयोजना हुनेछ। यी रेस्टुरेन्टहरूले विशेष आँपसम्बन्धी मेनुहरू प्रस्तुत गर्दै फेस्टिभललाई आकर्षक र स्वादिलो बनाउने तयारी गरेका छन्।

