इतिहास रचिन् छोरीहरूले : नेपाल पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा
जेठ ५, २०८२ । नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पारेको छ । नेपाल पहिलोपटक २०२६ महिला टी–२० विश्वकपको ग्लोबल छनोट चरणमा प्रवेश गर्न सफल भएको छ । यस उपलब्धिलाई नेपाली क्रिकेटको इतिहासमा एउटा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली महिला टोलीलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । उनले भनेका छन्, ‘नेपाली छोरीहरुलाई बधाई ! महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि ! २०२६ महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलोपटक प्रवेश गरेको छ । नेपालका लागि गर्वको क्षण हो । हार्दिक बधाई तथा शुभकामना !’
महिला टोलीको यो प्रगति नेपाली खेलकुद क्षेत्रका लागि मात्र नभई सम्पूर्ण देशका लागि प्रेरणाको विषय भएको टिप्पणी सामाजिक सञ्जालमा भइरहेका छन् । धेरैले यसलाई महिला सशक्तिकरणको प्रतीकका रूपमा समेत हेरेका छन् ।
नेपालले अब ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछ, जहाँ विभिन्न महादेशका उत्कृष्ट टिमहरूसँग खेल्नुपर्नेछ । ग्लोबल छनोट पार गर्न सकेमा नेपाल पहिलोपटक महिला टी–२० विश्वकप खेल्नेछ ।
यस जितले नेपाली महिला क्रिकेटको सम्भावना उजागर गर्नुका साथै आगामी दिनमा अझ ठूलो लक्ष्य हासिल गर्ने आत्मविश्वास थप बलियो बनाएको छ ।

