भारत–पाकिस्तान तनावमा नेपाल चिन्तित, ‘आतंकवादविरुद्धको लडाइँमा सँगै उभिन्छौं’
वैशाख २५, २०८२ । भारतको पाहलगाममा २२ अप्रिल २०२५ मा पर्यटक लक्षित आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ ।
उक्त घटनामा एक नेपाली नागरिकको मृत्यु भएकोप्रति दुःख प्रकट गर्दै नेपालले आतंकवादविरुद्धको लडाइँमा एकताबद्ध समर्थन जनाएको छ ।
परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सो आक्रमणको तत्कालीन समयमा नै कडा शब्दमा भर्त्सना गरिएको स्मरण गराउँदै नेपाल र भारत साझा पीडामा एकसाथ उभिएको उल्लेख गरेको छ ।
‘नेपालले सधैं सबै प्रकारका आतंकवादको कडा विरोध गर्दै आएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आतंकविरुद्धको लडाइँमा नेपाल सबैसँग उभिएको छ ।’
नेपाल सरकारले आफ्नो भूमि छिमेकी मुलुकहरूविरुद्ध कुनै पनि दुर्भावनापूर्ण गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता पनि दोहोर्याएको छ । साथै, सरकारले क्षेत्रीय शान्ति र स्थायित्वका लागि भारत–पाकिस्तानबीचको तनाव शान्तिपूर्ण रूपमा न्यूनिकरण होस् भन्ने आशा व्यक्त गरेको छ ।


