नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित
असार १४, २०८२ । नेपाली आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था सहितको ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ प्रतिनिधिसभाको शनिबारको बैठकबाट बहुमतले पारित भएको छ।
गृहमन्त्री रमेश लेखकले संसद बैठकमा उक्त विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसअघि उनले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गरेका थिए।
गृहमन्त्री लेखकले नागरिकता सम्बन्धी विषयमा विभिन्न समयमा सर्वोच्च अदालतबाट भएका फैसलालाई कार्यान्वयनमा ल्याउन र नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकताको सुनिश्चितता दिन यो विधेयक ल्याइएको बताएका छन्।
उनका अनुसार वैदेशिक रोजगारीमा गएकी महिलाले विदेशमा सन्तान जन्माएको अवस्थामा नेपाल फर्किँदा ती सन्तान नागरिकताविहीन बन्न नपरोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था गरिएको हो।
विधेयकमा भनिएको छ— “नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएर नेपालमा बसोबास गरेको, विदेशी नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएको तरिकाले स्वघोषणा गरेमा अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ।”

