नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पुरा : नयाँ रणनीतिक समझदारीपत्र हस्ताक्षर
जेठ ६, २०८२ । नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा नेपालमा महत्त्वपूर्ण सेमिनार र समझदारीपत्र हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नेपालको नीति अनुसन्धान संस्थान र चीनको नेशनल इन्स्टिच्यूट अफ इन्टरनेशनल स्ट्राटेजीबीच आपसी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। यस समझदारीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
यही अवसरमा ‘साझा भविष्यतर्फ अघि बढ्ने: नेपाल–चीन रणनीतिक सहकार्य साझेदारीको दृष्टिकोण र सम्भावना’ विषयक सेमिनार पनि सुरु गरिएको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सेमिनारको उद्घाटन सत्रमा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै नेपाल–चीनबीचको लामो र भरपर्दो सम्बन्धको चर्चा गरे। उनले चीनले नेपाललाई पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै चीनलाई विश्वासिलो विकास साझेदारको रूपमा उल्लेख गरे।
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा.डा. लेखनाथ शर्माले सेमिनारले दुई देशबीच औपचारिक सहकार्यको नयाँ ढोका खोलेको र संयुक्त अनुसन्धान, संवाद, प्रकाशन र नीतिगत कामका लागि मार्ग प्रशस्त गरेको बताए।
चीनबाट नेपाल आउने पर्यटकको संख्याले पनि दुई देशबीचको सम्बन्धलाई थप घनिष्ठ बनाइरहेको उल्लेख गरियो।
यो समझदारी र सेमिनारले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

