श्रम र परराष्ट्र मन्त्रालय निष्क्रिय भएको सांसद शाहीको आरोप
वैशाख २८, २०८२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले श्रम तथा परराष्ट्र मन्त्रालयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा बैठकमा आइतबार बोल्दै उनले पछिल्लो समय मन्त्रालयहरू नेपाली नागरिकको हितमा काम गर्न असफल भएको आरोप लगाए।
शाहीका अनुसार हाल विदेशमा कार्यरत लाखौं नेपाली श्रमिक समस्यामा पर्दा पनि सम्बन्धित मन्त्रालयहरू मौन बसिरहेका छन्। उनले भने, “नेपालीहरू बन्धक बनिँदा समेत मन्त्रालयहरू चुपचाप छन्, जिम्मेवारी निभाइएको देखिँदैन।”
उनले भारत–पाकिस्तान, रुस–युक्रेन, र प्यालेस्टाइन–इजराइल जस्ता विदेशी युद्धहरूमा समेत नेपालीहरू ज्यान गुमाउनु परेको उल्लेख गर्दै सरकारको चुप्पीप्रति खेद व्यक्त गरे। “यो बेरोजगारी र गरिबीको चरम संकेत हो,” उनले भने।
शाहीले रेमिट्यान्समार्फत प्राप्त आयले नै सरकारका सबै तहका कर्मचारीको तलब भरिएको उल्लेख गर्दै विदेशमा बसेकाप्रति आभार प्रकट गरे। साथै, मन्त्रालयले ठगीमा परेका नेपालीहरूलाई न्याय दिलाउन असफल भएको भन्दै मन्त्रालयहरूको अस्तित्वको औचित्यमाथि प्रश्न उठाए।
उनको भनाइमा, “यदि मन्त्रालयहरूले जनताको लागि काम गर्न सक्दैनन् भने तिनको कुनै अर्थ छैन।”

