Uncategorized

भोलिदेखि निषेधित क्षेत्र तोड्ने घोषणा गर्दै राप्रपा फेरि सडकमा

Sharing is caring!

वैशाख ६, २०८२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीको बिजुलीबजारमा भोलि (आइतबार) प्रदर्शन गर्ने तयारी गरेको छ । पछिल्ला केही दिन शान्त देखिएको राप्रपा अब पुनः आक्रामक आन्दोलनमा उत्रन लागेको हो । पार्टीले निषेधित क्षेत्र तोड्दै सामूहिक गिरफ्तारी दिने रणनीति तय गरेको छ ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएअनुसार प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं सहभागी हुनेछन् । प्रदर्शन दिउँसो १२ बजेदेखि सुरु हुने जनाइएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केही दिनअघि आन्दोलनका कार्यक्रम तय गर्दा सामूहिक गिरफ्तारीसहित दबाबमूलक गतिविधिमा जाने निर्णय गरिसकेको थियो ।

तीनकुनेमा भएको घटनापछि पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरासहित नेताहरूको रिहाइ माग गर्दै राप्रपाले चरणबद्ध आन्दोलन थालेको हो । ती नेताहरूको गिरफ्तारी भएको भोलिपल्टदेखि, अर्थात् १६ चैतबाटै पार्टी देशव्यापी आन्दोलनमा होमिएको छ ।

२६ चैतमा बल्खुमा आयोजित विरोध सभाबाट राप्रपाले आफ्ना नेताहरूको रिहाइ र सो दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरे बलियो संघर्ष चर्काउने चेतावनी दिएको थियो ।

यही पृष्ठभूमिमा केही समय शान्त रहेको राप्रपाले अब दोस्रो चरणको आन्दोलन सार्वजनिक गरेको छ । दोस्रो चरणको पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने घोषणा गर्दै राप्रपा फेरि सडकमा देखिन लागेको छ ।

पार्टीले आन्दोलनलाई निरन्तरता दिँदै सरकारलाई दबाब दिने रणनीतिमा अघि बढेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *