Headlineसमाचार

राष्ट्रिय दलित गोलमेच सम्मेलन काठमाडौंमा हुने

Sharing is caring!


जेठ २४, २०८२ । सदियौँदेखि उत्पीडनको सामना गर्दै आएका दलित समुदायको हकहित, समानता र अधिकार सुनिश्चित गर्न राष्ट्रिय दलित गोलमेच सम्मेलन हुन लागेको छ । आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आउँदो जेठ ३०, ३१ र असार १ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनका बारेमा जानकारी दिएका छन् ।

यो सम्मेलन नेपालको इतिहासमै पहिलोपटक हुन लागेको राष्ट्रिय स्तरको दलित गोलमेच सम्मेलन हो । आयोजकका अनुसार सम्मेलन कुनै पनि राजनीतिक दल वा संस्थाबाट प्रेरित नभइ स्वतन्त्र, स्वाभाविक र दलित समुदायको आवाजलाई समेट्ने उद्देश्यले आयोजना गरिएको हो ।

उत्पीडनको विरुद्ध आवाज बुलन्द
सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले विश्वमा गोलमेच सम्मेलन अभ्यास भइसकेको भए पनि नेपालमा यो पहिलो हुने बताए । उनले भने, “यो सम्मेलन दलित समुदायको मुक्ति र समानताको ऐतिहासिक मोड बन्नेछ । हामी कसैको इशारा वा प्रभावमा छैनौँ । हाम्रो उद्देश्य मौलिक र नेपाली समाजको सन्दर्भमा सान्दर्भिक छ ।”

डा. विश्वकर्माका अनुसार सम्मेलनमा मुख्य तीन एजेन्डामा बहस गरिनेछ :

राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व,

राज्यका स्रोतहरूमा हिस्सेदारी,

धर्म सुधार।

सामाजिक चेतना र न्यायको आवश्यकता
सामाजिक अभियन्ता तथा लेखक होमराज आचार्यले अझै पनि २१ औँ शताब्दीमा दलित समुदाय छुवाछुत, भेदभाव र अपमानको शिकार हुनुपरेकोप्रति दुःख व्यक्त गरे । उनले भने, “लामो संघर्षपछि संविधानले समानताको अधिकार दियो, तर व्यवहारमा दलित समुदाय अझै उत्पीडन भोग्न बाध्य छन् । परिवर्तन भयो, तर त्यो परिवर्तनसँगै उत्पीडनको स्वरूप फेरिएको छ ।”

उनका अनुसार यस गोलमेच सम्मेलनले ती अदृश्य षड्यन्त्रहरूलाई भण्डाफोर गर्ने अपेक्षा गरिएको छ ।

मुलुकभरबाट सहभागिता
गोलमेच सम्मेलनका प्रवक्ता राजेश मयाल विक (अग्नी शिखा) ले देशका सातै प्रदेश र ७७ वटै जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आउन थालेको जानकारी दिए । उनले सम्मेलनलाई दलित मुक्तिको दिशामा “कोसेढुङ्गा”को रूपमा चित्रित गरे ।

राजेश नेपाली, जो सम्मेलनको मुल आयोजक समिति सचिवालयका सदस्य हुन्, उनले सात दशक लामो दलित आन्दोलनको समीक्षा गर्दै अब विचारको नविकरण र नयाँ आन्दोलनको आवश्यकता औँल्याए। उनले भने, “२०७२ को संविधानको कार्यान्वयन समीक्षा गर्दै हामी नयाँ वैचारिक आधार निर्माण गर्न चाहन्छौँ ।”

६० लाख दलितको साझा मञ्च
सम्मेलनका सचिवालय सदस्य तारासिंह विकले यो सम्मेलन ६० लाख दलितको साझा मञ्च बन्ने विश्वास व्यक्त गरे। अधिवक्ता निर्मला परियारले विभिन्न संघसंस्थाले दलितमाथिको उत्पीडनविरुद्ध अभियान चलाए पनि ठोस नतिजा नआएकाले अब गोलमेच सम्मेलनले नयाँ मोड दिने बताइन् ।

उनका अनुसार यस सम्मेलनबाट कार्ययोजना निर्माण हुनेछ र अबको संघर्ष अझ संगठित तथा प्रभावकारी हुनेछ ।

तराईमा अझै पनि व्यापक अन्याय
मुल आयोजक समिति सदस्य मनोज रामले आजको युगमा पनि तराई क्षेत्रका दलित समुदायमाथि चरम अन्याय भइरहेकामा चिन्ता व्यक्त गरे । उनले हालै एक दलितको घर डोजर लगाएर विस्थापित गरिएको उदाहरण पेश गर्दै राज्यको विभेदकारी प्रवृत्ति अन्त्य गर्न सम्मेलनले विशेष बहस अघि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *