Headlineसमाचार

मृत पशुपन्छीलाई श्रद्धाञ्जली दिँदै ‘नार्ड’ मनाइयो

Sharing is caring!


जेठ १८, २०८२ । शनिबार स्वयम्भूस्थित धर्मचक्र पार्क (भगवान पाउ पार्क) मा एनिमल सेभ, नेपालको आयोजनामा राष्ट्रिय पशुपन्छी अधिकार दिवस (नार्ड) शान्तिपूर्ण कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रमको सुरुवात स्वयम्भू गेटस्थित बुद्ध पार्कबाट मौन पदयात्राबाट गरिएको थियो ।

पदयात्रा पश्चात धर्मचक्र पार्कमा पुगेका सहभागीहरूले मृत पशुपन्छीप्रति दुई मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरे। पशुपन्छीका तस्बिरहरूमा फूल चढाइयो, दियो बालियो र भावनात्मक कविता तथा कथाहरू वाचन गरियो । कार्यक्रम पशु अधिकारका सन्देशमूलक गतिविधिहरूले भरिएको थियो ।

अभियन्ताहरूले मानिस बिना पशुको माछामासु खाईकन पनि पूर्ण जीवन जिउन सक्ने र त्यसले नै सबै प्राणीप्रति सहानुभूति प्रकट हुने तर्क राखे। कार्यक्रममा शाकाहारी जीवनशैलीबारे नेपाल र विश्वभर भइरहेको प्रगतिको जानकारी पनि दिइयो । सहभागीहरूले पशुपन्छीप्रति हुने हिंसाका घटनाबारे जनचेतना बढ्दै गएको र कानुनी सुधार पनि भइरहेका कुरामा जोड दिए ।

धर्मचक्र पार्कमा आयोजित मूल समारोहमा पशु अधिकारको घोषणापत्र वाचन गरियो र उपस्थित सबैले त्यसमा हस्ताक्षर गरी क्रूरता-रहित जीवनशैली अपनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल साकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले पशु अधिकारसम्बन्धी गीत प्रस्तुत गर्दा लेखक रघु आदित्यले लेखेको पुस्तक ‘शाकाहार तर्काधार’ सार्वजनिक गरियो ।

कार्यक्रमको अन्त्यमा कथाघेरा प्रोडक्सनले जर्ज अर्वेलको चर्चित कृति ‘एनिमल फार्म’ को नेपाली सन्दर्भअनुसारको गीतमय प्रस्तुति दिएको थियो ।

यस वर्षको नार्ड कार्यक्रममा लभिङ हार्ट भिगन रेस्टुरेन्ट, वाईट लोटस, भिगन हाउस, सारा बेक्स भिगन, बेटर ब्याटर भिगन, सो भिगन जस्ता भिगन संस्था तथा व्यवसायहरूको साथ रहेको थियो ।


राष्ट्रिय पशुपन्छी अधिकार दिवस (नार्ड) के हो?

नार्ड अर्थात् National Animal Rights Day एक अन्तर्राष्ट्रिय दिवस हो जसले जनावर अधिकारका विषयमा जागरूकता फैलाउने उद्देश्य राख्छ । यो दिवसले विश्वभर मानवद्वारा मारिएका अरबौं पशुपन्छीहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै, जनावरमाथि भइरहेको हिंसा र शोषणको विरुद्ध आवाज उठाउने अवसर प्रदान गर्छ ।

यस वर्ष नार्ड ५० भन्दा बढी देशका १५० भन्दा धेरै शहरहरूमा एकसाथ आयोजना गरिएको छ ।


एनिमल सेभ, नेपाल

एनिमल सेभ नेपाल देशभर जनावर अधिकार प्रवर्द्धनमा सक्रिय एक अग्रणी संस्था हो। वकालत, शिक्षा र समुदायको संलग्नतामार्फत संस्थाले सहानुभूतिपूर्ण तथा क्रूरतारहित समाज निर्माण गर्न कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *