सांसद ज्वालाको माग : प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति तत्काल सार्वजनिक गरियोस्
वैशाख २४, २०८२ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गर्न माग गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ज्वालाले दैनिक उपभोग्य वस्तु र सिमेन्टको मूल्यमा बारम्बार भइरहेको वृद्धिले जनताको जीवन कष्टकर बनाएको उल्लेख गर्दै यस्तो अवस्थामा सत्ता पक्षले पारदर्शिताको कुरा गर्नु बेतुकको भएको टिप्पणी गरे।
“देशमा अनियमितता, बेतिथि र कुशासन हावी भएको छ,” उनले भने, “सरकारी कार्यालयमा ढिलासुस्ती र खुलेआम घुसखोरी भइरहेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नगर्नु आफैंमा अपारदर्शिता हो। त्यसैले सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गरिनुपर्छ।”
सांसद ज्वालाले सिंहदरबारको ढोका जनतामाथि निषेध गरिएको अनुभूति हुने गरी बन्द गरिएको आरोप लगाए। उनले सिंहदरबारलाई फलामे गेटले घेरेर जेलजस्तो बनाइएको भन्दै जनसाधारणको सहज पहुँच रोक्नु अस्वीकार्य भएको उल्लेख गरे।
“मन्त्रालयहरू सिंहदरबारभित्र थुपार्ने अनि जनतालाई प्रवेश निषेध गर्ने काम लोकतान्त्रिक प्रणालीमा स्वीकार्य हुँदैन,” उनले भने, “गेट खुला गरेर जनतालाई सहज रूपमा प्रवेशको व्यवस्था गरिनुपर्छ।”
उनका अनुसार कुशासनको प्रत्यक्ष प्रतीक अहिले सिंहदरबारको बन्द ढोका बनेको छ, जसले राज्यप्रतिको जनविश्वासमा समेत असर पारेको छ।

