देश

नारायणगढ–बुटवल सडक निर्माणको ढिलाइले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल : सांसद सिंह

Sharing is caring!

वैशाख १६, २०८२ । प्रतिनिधिसभामा सांसद डा. अमरेशकुमार सिंहले नारायणगढ–बुटवल सडक विस्तार योजनामा भइरहेको ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। मंगलबारको बैठकमा विशेष समयमा आफ्नो धारणा राख्दै उनले विकास निर्माणका काममा देखिएको लापरबाहीले देशकै साख जोखिममा परेको बताए।

सांसद सिंहका अनुसार सो सडकखण्डको काममा भइरहेको ढिलाइका कारण विशेषगरी लुम्बिनी जाँदै गरेका पर्यटकहरू अत्यधिक सास्ती खेपिरहेका छन्। “यात्राका क्रममा खराब अवस्थाको सडक पार गर्न पर्यटकहरू विवश छन्, जसले देशको पर्यटन क्षेत्रमाथि प्रत्यक्ष असर पारिरहेको छ,” उनले बताए।

उनले हालै एक विदेशी पर्यटकले सो सडकखण्डको अवस्था कैद गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको दृश्य उल्लेख गर्दै भने, “सडकको जथाभावी अवस्थाको भिडियो अन्तर्राष्ट्रिय रूपमा फैलँदा नेपालको छवि नै धुमिल भएको छ।”

सिंहले शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवा क्षेत्रमा गुणस्तर खस्किँदै गएको उल्लेख गर्दै पूर्वाधार विकास पनि समयमै सम्पन्न नहुनु चिन्ताको विषय भएको बताए। “यस प्रकारका ढिलासु कार्यशैलीले देशको विकासलाई अवरुद्ध बनाएको छ,” उनले भने।

सांसद सिंहले ठेक्काको समयसीमा उल्लंघन गर्ने निर्माण कम्पनीहरूमाथि कारबाहीको माग गर्दै सरकारलाई म्याद थप नगर्न आग्रहसमेत गरे। “निर्धारित समयसीमा नपुगेका ठेकेदारलाई पुनः अवसर दिने प्रचलनले अकुशलतालाई प्रश्रय दिएको छ,” उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *