समाचार

कश्मीर घटनाबारे सांसद असिम शाहको स्पष्ट सन्देश : आतङ्कवादको कुनै धर्म हुँदैन

Sharing is caring!

वैशाख ११, २०८२ । कश्मीरमा हालै घटेको आ’तङ्कवादी घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले गहिरो दुख व्यक्त गर्दै नेपालभित्र फैलिन सक्ने धार्मिक घृणाको प्रवृत्तिमाथि कडा टिप्पणी गरेका छन्।

शाहले संसद् बैठकका क्रममा भने, “आतङ्कवादको कुनै धर्म हुँदैन। कश्मीरमा भएका घटनामा सबै निर्दोषहरू मारिए, त्यहाँ पर्यटकलाई जोगाउन लागेका कश्मीरी मुस्लिम युवाहरू पनि ज्यान गुमाए। धर्मको नाममा घृणा फैलाउनु अमानवीय हो — त्यस्तो अभिव्यक्तिको हामी दृढ रूपमा विरोध गर्छौँ।”

उनले नेपाललाई धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको भूमि भन्दै वर्तमान संवेदनशील परिस्थितिमा संयमता अपनाउन आग्रह गरे। “धमिलो पानीमा माछा मार्ने काम नगरौं,” उनको आग्रह थियो।

सांसद शाहले नेपाली मुस्लिम समुदायबारे फैलिएको एक आम भ्रमको खण्डनसमेत गरे। उनले हजमा जाने मुस्लिम नागरिकहरू सरकारको होइन, आफ्नै खर्चमा साउदी अरब जाने जानकारी दिँदै सरकारको भूमिका व्यवस्थापनमा मात्र सीमित रहने बताए।

“नेपालका मुस्लिम नागरिक हज गर्न आफैँ खर्च गरेर जान्छन्। राज्यको तर्फबाट हज समिति व्यवस्थापन गर्छ, खर्च राज्यले व्यहोर्दैन,” उनले भने।

उनका अनुसार यस्ता विषयलाई लिएर झुटा प्रचार र धार्मिक भेदभावले मुलुकको समावेशी संरचनामा चोट पुर्‍याउने सम्भावना हुन्छ, जसलाई रोक्न सबै तहमा सचेत हुन जरुरी छ।

नेपालमा बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजको बीचमा सामूहिक सहिष्णुताको संस्कृति विकास हुँदै आएको छ। यस्तै समयमा सांसद शाहको अभिव्यक्ति समाजमा फैलन सक्ने नकारात्मक भावनालाई रोकेर राष्ट्रिय एकता र सामाजिक सद्भावको सन्देश दिने प्रयत्नका रूपमा देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *