मनोरञ्जन

याम शेर्पाले गरे चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा

Sharing is caring!

वैशाख १, २०८२ । निर्देशक याम शेर्पाले आफ्नो नयाँ चलचित्र ‘मिरमिरे’को निर्माणको औपचारिक घोषणा गरेका छन्। नयाँ वर्ष २०८२ को अवसर पारेर शेर्पाले थिम पोस्टरसहित सिनेमाको घोषणा गरेका हुन्।

‘कार्साङ’बाट चर्चामा आएका शेर्पाले ‘मिरमिरे’मार्फत ग्रामीण परिवेशमा आधारित सामाजिक कथा दर्शकमाझ ल्याउने तयारी गरेका छन्। यार्सा फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने निमु शेर्पा र चोङ्वा लामा शेर्पाले लगानी गर्नेछन्।

थिम पोस्टरमा एक पुरुष र एक महिला पात्र मिरमिरे उज्यालोमा सूर्यतर्फ फर्केर उभिएका देखिन्छन्। सूर्यको पहिलो किरणसँगै नयाँ योजना र संकल्पको संकेत दिने पोस्टरले दर्शकमा जिज्ञासा थपेको छ। यद्यपि, पोस्टरमा पात्रको उद्देश्य र कथा स्पष्ट खुलाइएको छैन।

चलचित्रको कथा तथा निर्देशन याम शेर्पाले नै गर्नेछन्। कलाकारको टुंगो अझै भइसकेको छैन तर निर्देशक शेर्पाले समयक्रममा कलाकारबारे जानकारी दिइने बताएका छन्।

“हाम्रो चलचित्र सामाजिक विषयवस्तुमा आधारित रहेर बन्नेछ,” निर्देशक शेर्पाले बताए, “कोको कलाकार रहने हामी विस्तारै जानकारी दिँदै जानेछौँ।”

‘कार्साङ’मा देखिएका कमीकमजोरीबाट पाठ सिकेर यसपटक दर्शकको चाहना र खोजअनुसार सिनेमा बनाउने प्रतिबद्धता शेर्पाले जनाएका छन्। उनले ‘मिरमिरे’मा पनि दर्शकको साथ रहने विश्वास व्यक्त गरेका छन्।

सिनेमाको प्रदर्शन मिति भने अझै तय गरिएको छैन। तर निर्माणपक्षले यसै वर्षभित्र रिलिज गर्ने लक्ष्य राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *