माता सीताको अग्निपरीक्षा र माता सतीको आत्मदाह : एकै अग्निको दुई कथा, एउटै समाजको दुई प्रतिविम्ब
चैत २७,२०८१ ।अग्नि – जसले नष्ट गर्छ, शुद्ध बनाउँछ र कसैलाई अमर बनाउँछ। यही अग्निको साक्षीमा हिन्दू धर्मका दुई महादेवीहरूले आत्मको परिक्षा दिइन्। माता सीताको अग्निपरीक्षा र माता सतीको आत्मदाह — यी दुई घटनाले नेपाली समाजसहित सम्पूर्ण हिन्दू सभ्यतामा युगौँदेखिको प्रभाव पारेका छन्। यी कुनै कथा मात्र होइनन्, यी हाम्रा संस्कार, मूल्य र सोचको गहिरो प्रतिविम्ब हुन्। आज पनि सीता र सतीको नाम उच्चारण गर्दा नारी शक्तिको आदर्श, आस्था र आत्मसम्मान झल्कन्छ। तर समयसँगै यी घटनाहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ। जब हामी सत्य तथ्यमाथि आधारित पुनर्व्याख्या गर्छौं, तब यी घटनाले हाम्रो सोच, सामाजिक संरचना र धार्मिक विश्वासप्रति नयाँ सवाल उठाउँछन्।
रामायण अनुसार माता सीता लंका विजयपछि जब श्रीरामसँग पुनर्मिलनका लागि आइन, तब रामले सम्पूर्ण अयोध्याको दृष्टिमा उनकी पवित्रता प्रमाणित हुनुपर्ने बताए। यो भनाइले समाजको सोचलाई उजागर गर्छ — पुरुषले जितेपछि पनि नारी प्रमाणित हुनुपर्छ। सीता, जो आफ्नै इच्छा विपरित रावणको बन्धनमा परिन्, जसले समर्पण र पतिव्रत धर्म कहिल्यै छाडिनन्, उनलाई अग्निपरीक्षा दिन बाध्य बनाइयो। अग्निमा प्रवेश गर्दा सीता जलिनन्, किनभने उनी भित्र–बाहिर शुद्ध थिइन्। अग्निदेव स्वयं प्रकट भई उनको पवित्रता प्रमाणित गर्नुपर्यो। यस घटनाले नारीलाई ‘सिद्ध’ प्रमाणित गर्नको लागि समाजले जस्तो मानसिक बोझ थोपर्छ, त्यसको शाश्वत प्रतिबिम्ब देखाउँछ।
यता, शिव–सतीको कथा फरक छ। सतीको पतिको अपमान भयो — त्यो अपमान उनका आफ्नै पिताबाट भयो। दक्ष प्रजापतिले आफ्नो यज्ञमा शिवलाई बोलाएनन्, सतीले गएर जब आफ्ना पतिको अनादर सुनीन्, तब उनले सो यज्ञ र समाजको प्रतिनिधित्व गर्ने आफ्नो शरीरलाई अग्निमा समर्पित गरिन्। उनले प्रतिकार गरिन्, सहिनन्। सतीको आत्मदाहले नारी विद्रोहको पराकाष्ठा देखायो। समाजले यदि पतिको गरिमा रक्षा गर्न सक्दैन भने, त्यस्तो समाजमा सतीले आफूलाई राख्न उपयुक्त ठानिनन्।
यी दुई घटनामा एउटा गहिरो अन्तर छ। सीताले समाजले लगाएको प्रश्नको उत्तर दिन आफूलाई अग्निमा राखिन्; सतीले समाजको अपमानप्रति आफूलाई अग्निमा समर्पित गरिन्। एकले सहिन्, एकले लडिन्। तर दुवै घटनाको मूल उद्देश्य एउटै थियो — नारी आत्मसम्मानको रक्षा।
धार्मिक दृष्टिकोणबाट हेर्दा दुवै देवीहरू महान् पात्र हुन्। सीता श्रीहरिको अर्धाङ्गिनी लक्ष्मीको अवतार, सती पार्वतीको पूर्वरूप, शक्ति स्वरूपा। तर, धर्मले उनीहरूको बलिदानलाई सधैं पूज्य बनायो। हामीले उनलाई आदर्श बनायौं, पूजा गर्यौं। तर, के हामीले उनीहरूले किन यस्तो गरे भन्ने पक्ष बुझ्यौं? उनीहरूका कार्यहरूको व्याख्या हामीले पूजा गरेर मात्र गर्यौं, प्रश्न उठाएर होइन। र यहींबाट सुरु हुन्छ आधुनिक समाजको विचार।
आजको समाजमा पनि सीता र सतीको छायाँ हराएको छैन। धेरै महिला आज पनि अग्निपरीक्षामा छन्। विवाह पछि पत्नीको चरित्रमाथि शंका, दाइजो माग, निर्णय स्वतन्त्रताको खोट — यी सबै आधुनिक अग्निपरीक्षाको रूप हुन्। त्यस्तै, धेरै महिला आज पनि सती बन्न बाध्य छन् — आत्मसम्मानको रक्षा गर्न, अपमानको प्रतिकार गर्न। ती चुपचाप पग्लिरहेछन्, आवाजविहीन रूपमा जलिरहेछन्। सीताको जस्तो अग्निमा होइन, तर परम्परा, सोच र व्यवहारको अग्निमा।
सांस्कृतिक दृष्टिले पनि यी कथाहरूको प्रभाव अमूल्य छ। हामीले सतीको बलिदानलाई सती प्रथा बनायौं — जसमा श्रीमानको मृत्युपछि श्रीमतीलाई जिउँदै जलाइन्थ्यो। सतीको सन्देश आत्मसम्मान थियो, समाजले त्यसलाई नियन्त्रण बनायो। यो विकृति हो — जसले सयौँ वर्षसम्म नारीको स्वतन्त्रता र जीवन हरण गर्यो। त्यस्तै, सीताको अग्निपरीक्षाले पनि युगौँसम्म नारीलाई ‘पवित्रता प्रमाणित गर्नुपर्ने’ मानसिकता विकास गर्यो। चुलो–चौको भित्र सीमित महिला, परिवार र सन्तानमै समर्पित जीवन, अनि चरित्रमाथिको सन्देह — यी सबै सीताको पवित्रता परीक्षणको नाममा समाजमा फैलिएका सोच हुन्।
तर अब समय बदलिएको छ। आधुनिक शिक्षाले, नारी जागरणले, मानव अधिकारको चेतनाले अब समाजलाई नयाँ दृष्टि दिएको छ। अब नारी केवल देवी होइनन् — उनी अधिकार सम्पन्न, विवेकी र स्वतन्त्र व्यक्तित्व हुन्। अब सीताको कथा नारी सहनशीलताको प्रतीक मात्र होइन, उसको मौनता–माथि उठ्ने आवाज पनि हो। सतीको कथा अब विद्रोह र आत्मसम्मानको आवाज हो — जुन हामीले नयाँ पुस्तामा सार्नुपर्छ।
धर्मले हामीलाई मार्ग देखाउँछ, तर सोच–समझले त्यो मार्ग रोज्छ। आज हामी यी घटनालाई केवल चमत्कारी कथा सम्झेर नछाडौँ। साँचो श्रद्धा भनेको त यिनको सार बुझेर व्यवहारमा लागू गर्नु हो। आज हामीले सती बन्नुपर्ने छैन, तर सतीको जस्तो साहस चाहिन्छ। हामीले सीता बन्नुपर्ने छैन, तर सीताको जस्तो निष्ठा र आत्मबल चाहिन्छ।
यी घटनाले एउटा ठूलो प्रश्न पनि उठाउँछन् — जब समाजले देवी स्वरूप नारीलाई पनि परीक्षा लिन्छ भने, सामान्य महिलाको अवस्था के हुन्छ? उत्तर स्पष्ट छ — जबसम्म समाजले सोच परिवर्तन गर्दैन, तबसम्म सीता र सतीजस्ता बलिदान दोहोरिइरहन्छन् — रूप फेरिएर, सन्दर्भ बदलिएर। अहिले आवश्यकता छ — शिक्षा, व्यवहार र चेतनामा परिवर्तन ल्याउने। हाम्रा छोरीहरूलाई अब अग्निपरीक्षा होइन, आत्मनिर्णय दिन सक्ने अवसर चाहिन्छ।
समाज, धर्म र संस्कृति — यी तीनवटै पक्षमा गहिरो विमर्श आवश्यक छ। धर्मले प्रेरणा देओस्, तर दबाब नपारोस्। संस्कृति आदर्श बनोस्, तर अवरोध होइन। समाज न्यायपूर्ण बनोस्, परीक्षा दिने ठाउँ होइन। माता सीता र माता सतीको बलिदान यसका लागि पर्याप्त छन् — अब बलिदान दोहोरिनु हुँदैन। तिनीहरूको कथा अब पूजा गर्ने होइन, पाठ सिक्ने माध्यम बन्नुपर्छ।
जब कुनै समाजले आफ्ना देवीहरूको पीडालाई बुझ्न थाल्छ, तब मात्र त्यो समाज साँच्चै सभ्य हुन्छ।

