विदेश

गाजामा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु, हरेक ४० मिनेटमा एकको ज्यान जाने अवस्था

Sharing is caring!

वैशाख २३, २०८२ । सन् २०२३ अक्टोबर ७ मा सुरु भएको इजरायली सैन्य आक्रमणपछि गाजापट्टीमा १६ हजारभन्दा बढी बालबालिकाले ज्यान गुमाएका छन्। गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार हालको स्थितिमा हरेक ४० मिनेटमा एक बालबालिकाको मृत्यु हुने अवस्था रहेको छ।

फिल्ड अस्पतालका निर्देशक डा. मारवान अल–हाम्सका अनुसार हालसम्म १६ हजार २७८ बालबालिकाको मृत्यु भइसकेको छ, जसमा ९०८ शिशु र ३११ नवजात शिशु जन्मिएलगत्तै ज्यान गुमाएका छन्। मार्चको सुरुमा इजरायलले गाजाका सीमा नाकाहरू बन्द गरेपछि मानवीय अवस्था झनै जटिल बनेको उनले बताए।

स्वास्थ्य सेवा, पिउने पानी, औषधि र पोषणयुक्त खानाको चरम अभावका कारण गर्भवती महिला र बालबालिका विशेष गरी प्रभावित भएका छन्। “हजारौँ बालबालिका स्वच्छ पानी, औषधि र पर्याप्त भोजन बिना विस्थापन शिविरमा जीवनयापन गरिरहेका छन्,” डा. हाम्सले भने।

उनका अनुसार धेरै गर्भवती महिलाहरू अस्पतालसम्म पुग्न सक्ने अवस्थामा छैनन्, जसले मातृ तथा शिशु मृत्युदर अझ बढाउने खतरा देखिएको छ। दिनको एक अपूर्ण छाकमै गुजारा गरिरहेकाले बालबालिकाको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको जनाइएको छ।

इजरायलले हमाससँग जनवरीमा भएको युद्धविरामको पहिलो चरणपछि मार्च २ देखि गाजामा आपूर्तिको मार्ग अवरुद्ध गरेको थियो। सम्झौताको दोस्रो चरण अझै निष्कर्षमा नपुगेकाले द्वन्द्वको अन्त्य अझ अनिश्चित बनेको छ।

यसबीच, विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले गाजामा जारी संकटलाई गम्भीर मानवीय विफलता भन्दै तत्काल युद्धविराम र मानवीय सहायता पहुँच सुनिश्चित गर्न वैश्विक समुदायको हस्तक्षेप आवश्यक भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *